युवा पुस्ता नै सामाजिक सञ्जालमार्फत् ठगीमा व्यस्त

युवा पुस्ता नै सामाजिक सञ्जालमार्फत् ठगीमा व्यस्त

नेपाली समाजमा सामाजिक सञ्जालको दुरुपयोग कतिसम्म भइरहेको छ भन्ने उदाहरण पछिल्ला केही घटनाले देखाएको छ । नेपालको बैकिङ्ग प्रणाली डिजिटल माध्यममा रुपान्तरण हुँदै गर्दा अनलाइन प्रणालीको प्रयोगबाट हुने ठगीधन्दा मौलाउँदै गएको छ । 

प्रविधिमा सर्वसाधारणको पहुँच बढ्नु एकातर्फ सकारात्मक पक्ष हो । तर, त्यसलाई कसरी उपयोग गर्ने भन्ने विषयले धेरै प्रभाव पाने भएकाले पछिल्लो समय कतिपय गैरकानुनी कार्य प्रविधिको दूरुपयोगबाट हुँदै आइरहेको छ ।

जुवा खेलाउने, चिठ्ठा परेको नाममा ठगी गर्ने, हनिट्रयापमा पार्ने, ब्ल्याकमेलिङ गर्नेलगायत अवैध कार्य सञ्चालन गर्ने थलो सामाजिक सञ्जाल बनेको छ । केही दिन अघि टिकटकको माध्यमबाट जुवा खेलाउँदै आएको एउटा गिरोह समातिएको थियो ।

टिकटकबाट पनि जुवा खेलाइन्छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । गत पुस २८ गते उपत्यकाका विभिन्न स्थानबाट टिकटकमार्फत ठूलो रकम बाजेर राखी जुवा, तास खेलाउँदै गरेको अवस्थामा चार जना समातिएका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इ–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत् रकम जम्मा गराई लाभ लिने गरेको बताइन्छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१७ ग्वार्कोका २१ वर्षीय ऋषिप्रकाश योगी, सूर्यविनायक नगरपालिका–१७ का २७ वर्षीय कपिल गिरी, मध्यपुर थिमी नगरपालिका–२१ का प्रेम कठायत र सोही नगरपालिकाको वडा नम्बर १ का २० वर्षीय डिल्लीराज अवस्थी पक्राउ परेका हुन् ।

पक्राउ परेका योगीले १० महिनाको अवधिमा पब्जी र पब्जी टुबाट २८ लाख ७३ हजार ३५४ रुपैँयाको कारोबार गरेको पाइएको छ । त्यस्तै, गिरीले १० दिनको अवधिमा पोकर किङबाट १० लाख ५२ हजार ९६२ रुपैयाँ बराबरको टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको खुलेको छ । 

त्यस्तै, कठायत र अवस्थीले टिकटक, इ–सेवा, वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिनाको अवधिमा ९३ हजार २१४ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ । हालै सम्पन्न फिफा विश्वकपमा सट्टेबाजी खेलाउनेलाई पनि प्रहरीले पक्रेको थियो । सो क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीका २० वर्षीय आदर्श ठाकुरलाई गत मंसिर २६ गते ललितपुरबाट पक्रेको हो । 

ठाकुरले सट्टेबाजबाट दुई करोड दुई लाख दुई हजार ४०४ रुपैयाँ आफ्नौ बैंक खातामा जम्मा गरेका थिए । उक्त रकम सिदार्थ, एनआईसी एसिया र नबिल बैंकबाट आफ्नो खातामा छ महिनामा रकमान्तर गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सट्टेबाजीमा उनले विभिन्न व्यक्तिका नाममा ९४ वटा सिमकार्ड लिएको र डिजिटल वालेट चलाएको प्रहरीले जनाएको छ । 

यसैगरी, गत मंसिर १६ गते सामाजिक सञ्जालमार्फत विदेश पठाइदिने प्रलोभनमा लाखौँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परे । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी वडा नम्बर १० का २७ वर्षीय रामकृष्ण आचार्यले सामाजिक सञ्जालमार्फत कम्बोडिया पठाइदिने प्रलोभनमा पीडितहरुबाट उक्त रकम ठगेको खुल्न आएको छ । 

प्रहरीका अनुसार आचार्यले कम्बोडियामा आकर्षक तलब र सुविधासहित काम लगाइदिने प्रलोभनमा पीडितहरुबाट २४ लाख ९७ हजार रुपैयाँ असुलेका थिए । यी सबै प्रविधिको दुरुपयोग गरेर ठगी गरिएका प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटनाको संख्यामा अस्वभाविक तवरले वृद्धि भएको प्रहरीको भनाइ छ ।

 ​​​​कतिपयले चिठ्ठा परेको प्रलोभनमा आमनागरिकको गोप्य विवरण प्राप्त गरेर त्यसको दूरुपयोग गर्दै आएको पनि पाइएको छ । प्रविधिबारे कम जानकारी भएकाहरु त्यसमा ठगिरहेका छन् । कतिपय विश्वासको आडमा समेत ठगिएका छन् । सामाजिक सञ्जालको सदुपयोग गरेमा त्यसबाट थुप्रै फाइदा उठाउन सकिने अवस्था एकातिर छ । त्यसबाट धेरै खालका ज्ञान हासिल गर्न सकिन्छ । 

समयक्रममा सामाजिक सञ्जालका नयाँ नयाँ एप्लिकेशनहरु निर्माण भएर बजारमा आएका छन् । तर, त्यस्ता एपले साइबर अपराधको बाढी नै ल्याएको प्रहरीको बुझाइ छ । बढ्दो साइबर अपराधले समाजको अपराधिक मनोवृत्ति छर्लङ्ग परेको जानकारहरु बताउँछन् । सामाजिक सञ्जाल प्रयोगकर्ता यस्तो विषयमा पहिल्यै जागरुक हुनुपर्नेमा हाम्रो सन्दर्भमा त्यस्तो हुन सकेको देखिँदैन ।

सामाजिक सञ्जाल चलाउँदा नचिनेको व्यक्तिबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट नगर्ने, सामान्य चिनजानकै भरमा गोप्य कुरा नखोल्ने, सूचना नदिनेलगायतका कार्य गरेमा उल्लेखित घटनाबाट जोगिन सकिन्छ । नेपाल साइबर व्यूरोका प्रवक्ता पशुपतिकुमार रायले पनि पछिल्लो समय डिजिटल माध्यमबाट हुने अपराधिक क्रियाकलापहरु बढिरहेको बताए । 

हरेक मानिसको हातमा मोबाइल र इन्टरनेट सुविधा रहेकाले यस्ता घटना भएको उनको भनाइ छ । उनले डिजिटल माध्यमबाट हुने आपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न ब्यूरोले विभिन्न स्थानमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेको, आफ्नो नाममा रहेको इन्टरनेट सेवा अनावश्यक वा अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिन जनचेतना फैलाएको र अपराधमा संलग्न व्यक्तिलाई अनुसन्धान गरी कानूनको दायरामा ल्याउने गरेको जानकारी गराएका छन् ।

टिप्पणीहरू