सशस्त्रका इन्सपेक्टर रवीन्द्र कार्बाहीमा परेकै हुन् त ?

सशस्त्रका इन्सपेक्टर रवीन्द्र कार्बाहीमा परेकै हुन् त ?

– सन्तोष बराइली           

सशस्त्र प्रहरी बलका एक जना निरीक्षक (इन्सपेक्टर) माथि सिरहाको दक्षिणी सीमावर्ती ठाडी नाकास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी ठाडीको सेटिङ्गमा करोडौंको मालसामान उताउता गर्न तस्करहरूसँग मिलेको आरोप लागेको छ । सोही आरोपमाथि छानबिनका लागि बिओपी ठाडीका इन्सपेक्टर रवीन्द्र दाहाललाई गणमा तानिएको अपुष्ट समाचार बाहिरिएको छ । उनलाई छ महिनाअघि गणमा तानिएको थियो ।

ठाडी भन्सार नजिकै नवराजपुर घर भएका पृताङ्क दैनिकका प्रकाशक तथा सम्पादक सुरेन्द्र दास जनआस्थासँग ठाडीबाट लहान सडकखण्डमा चल्ने स्थानीय बसहरुमा अहिले पनि बसभित्र र बसमाथि दैनिक उपभोग्य सामाग्री, लत्ता कपडा,जुत्ता,चिनी,मललगायत खाद्यान्न सामाग्री अवैध रूपमा आयात हुँदै आएको बताउँछन् । पत्रकार दासका अनुसार ठाडी नाकाबाट एक जना व्यपारीले दिउँसो र साँझको समयमा गरेर दुई पटक मोटरसाइकलमा मालसामानहरू खुल्लमखुल्ला प्रहरीको अगाडिबाटै ओसारपसार हुने गरेको छ ।

यस विषयमा पटक पटक समाचार लेखे पनि सम्बन्धित निकाय मौन रहेको उनको भनाइ छ । बिओपी ठाडीका इन्सपेक्टर दाहाल र प्रहरी चौकी कार्यालय ठाडीको संरक्षणमा तस्करको मिलेमतोमा अवैध मालसमान वारपार व्यापक रुपमा हुने गरेको गुनासो यद्यपि कायम छ ।

 

दास भन्छन्, ‘ठाडी,मरिक टोल, आभेनगरबाट गाई, गोरु, लत्ताकपडा चिनी, सुपारी, टिना, चामल, अनेक सामान अवैध रूपमा उताबाट यता र उताबाट उता हुने गरेको छ ।’ ठाडी भन्सारबाट दिनहुँ ३० जना तस्करलाई लाइन दिने गरिएको उनको दाबी छ ।

तीध्ये १० महिला २० पुरुष रहेको बताइन्छ । उनीहरूसित महिनावारी असुल्ने गरिएको स्थानीयको आरोप छ । त्यसरी रकम असुल्ने गरिएका व्यापारीहरूको नाम र नम्बरसमेत जनआस्थाले प्राप्त गरेको छ । दासले गृहमन्त्री रवि लामिछानेको निर्देशनको बेवास्ता गर्दै बडहरी, कचनारी,कजरा,जिझौल जानकी नगर, महेशपुर पतारी, माडरलगायत भन्सार तथा नाकाहरुबाट अहिले पनि खुलेआम तस्करी भएको देख्न सकिने दाबी गरे । 

तर नवराजपुर बिओपीका एक जना सशस्त्र प्रहरीले दासको दाबीको खण्डन गरेका छन् । ‘कठ्याग्रिने जाडोकोे पर्वाह नगरी सीमा सुरक्षा बलले सीमानामा बसेर दिन रात ड्युटी गरेको चाहिँ नदेख्ने, दैनिक घरायसी प्रयोगका लागि सीमाका गाउँलेले ल्याएका सामानको फोटा र भिडियोहरू खिचेर सुरक्षाकर्मीको सेटिंगमा तस्करी भएको आरोप लगाउने ?’ उनले भने ।

उनै सशस्त्र प्रहरीले उक्त आरोप सुरक्षाकर्मीहरुमाथि लगाइएको गम्भीर र कपोलकल्पित रहेको बताए । ठाडी बिओपीका इन्सपेक्टर दाहाललाई छानबिनका लागि नभएर काजमा गणमा सरूवा गरिएको बताइएको छ । गणका सूचना अधिकारी डिएसपी निरज आचार्यले जनआस्थासँग भने, ‘वहाँ केही दिनपछि यतै फर्कंदै हुनुहुन्छ ।’

सिरहासँग जोडिएको भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका सात वटा बिओपी छन् ।

टिप्पणीहरू