महोत्तरीमा नक्कली प्रहरीको बिगबिगी,आधा दर्जन पक्राउ

महोत्तरीमा नक्कली प्रहरीको बिगबिगी,आधा दर्जन पक्राउ

महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्दैै आएका छ जनालाई सक्कली प्रहरीले पक्रेको छ । बर्दिबास नगरपालिका ४ को चेरु माईस्थान जंगलमा सर्लाहीको हरिऔन बस्ने राहुल महतोलाई लुटपाट गरेपछि उनीहरु प्रहरी नियन्त्रणमा पुगेका हुन् ।

पीडितका अनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्याएर सिआइडीको बहानामा नगद,मोबाइल र क्यामरा लुटपाट भएको हो । ‘मलाई उनीहरुले हातमा लठ्ठी लिएर चारैतिरबाट घेरा हाले’, पीडित महतोले भने, ‘त्यसपछि मोबाइल,नगद र क्यामरा लिएर गए ।’

प्रहरीले पक्राउ गरेकामा महोत्तरी बर्दिबास १४ बस्ने २२ वर्षीय निरज साह सोनार,२२ वर्षका गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा,२० वर्षीय सनम मगर,वडा नम्बर १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र जनकपुर उपमहानगरपालिका ७ जिरोमाइल बस्ने १९ वर्षीय दिपक राउत हुन् ।

उनीहरुले महतोलाई आफूसँग भएको डिएसएलआर क्यामरा चोरेको स्वीकार्नुपर्ने अन्यथा,बर्दिबास बजार क्षेत्रबाट चोरी भएका मोटरसाइकलको मुद्दा लगाउने त्राससमेत देखाएका थिए ।

चोरिएको मोटरसाइकलको बदलामा २२ हजार ५ सय थप दिनुपर्ने बताएपछि महतो पैसा लिन घर गएका थिए । फर्केर आउँदा उनीहरु त्यहाँबाट भागेको महतोको भनाइ छ । उनले आफ्नो मोबाइल ३ थान,क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको उजुर गरेका छन् ।

सोही उजुरको आधारमा छ जनालाई बर्दिबासका विभिन्न स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरीडाँडाले जानकारी दिएको छ । उनीहरु सबैलाई जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू