यात्रुले चालक दलका महिला सदस्यलाई ‘टच’ गरेपछि दिल्ली एयरपोर्टमा बबाल
स्पाइसजेट एयरलायन्सको फ्लाइटमा नयाँ दिल्लीबाट हैदराबाद जान लागेका एक यात्रुले विमान कम्पनीका एक जना महिला सदस्यलाई छोएपछि दिल्ली एयरपोर्टमा बबाल मच्चिएको छ । ती महिलालाई गलत आशयले छोएपछि प्रहरीले यात्रुलाई नियन्त्रणमा लिएको हो ।
दिल्लीबाट हैदराबाद जान लागेको विमानमा हिजो यात्रुको अवाञ्छित क्रियाकलापका कारण क्रु मेम्बर महिला रुन थालेपछि यात्रुलाई तत्काल विमानबाट उतारेर प्रहरीको जिम्मा लगाइएको थियो । त्यसपछि उनीसँगैका अर्का यात्रुलाई पनि विमानबाट ओरालिएको बताइन्छ ।
विमानबाट ओरालेपछि यात्रुले प्रहरीसँग लिखित माफी मागेका थिए । स्पाइसजेटका प्रवक्ताले भने,‘सोमबार स्पाइसजेटको भाडामा लिइएको विमान उडानको तरखरमा थियो । दिल्ली विमानस्थलमा बोर्डिङको क्रममा एक यात्रुले चालक दलका विदेशी महिला सदस्यलाई अस्वाभाविक ढंगले छोएपछि घटना संवेदनशील भएको हो ।’
टर्कीको एउटा कम्पनीबाट ल्याइएको उक्त विमानमा चालक दलका सबै सदस्य विदेशी छन् । नियमानुसार त्यहाँ एक जना भारतीय सदस्य हुनैपर्छ जसले यात्रु र विदेशी चालक दलबीच आवश्यकताअनुसार भाषा अनुवाद गर्न सक्छन् । तर स्पाइसजेटमा उक्त नियमको पालना नभएको पाइएको हो ।
टिप्पणीहरू