सिंहदरबारमा दिनभर राजदूतहरुको ओहोरदोहोर

सिंहदरबारमा दिनभर राजदूतहरुको ओहोरदोहोर

आज दिउँसो सिंहदरबारमा नेपालका लागि विभिन्न मुलुकका राजदूतहरुको बाक्लो ओहोरदोहोर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. विमला राई (पौडेल) सँग भेटघाट गर्न आज विभिन्न मुलुकका राजदूतहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालय पुगेका हुन् ।

सो क्रममा प्रधानमन्त्री दाहालसँग आज केही मीनेटको फरकमा उत्तर कोरिया र दक्षिण कोरियाका राजदूतहरुले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दहालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग शुकीले दिउँसो सवा २ बजेदेखि झण्डै २० मीनेट भेटवार्ता गरेको बताइएको छ । 

त्यसपछि प्रधानमन्त्रीसँग भेट गर्न अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्क त्यहाँ पुग्नुभएको हो । उहाँहरुबीच साढे २ बजेदेखि आधा घण्टा कुराकानी भएको थियो । अष्ट्रेलियाका राजदूत बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले दिउँसो सवा ३ बजेदेखि आधा घण्टा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

उता परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा. विमला राई (पौडेल) सँग आजै नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ र जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज दिउँसो सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग भेट गर्नुभएको बताइएको छ । राजदूत श्रीवास्तव सभामुखलाई भेट्न दिउँसो १ बजे सभामुखको कार्यकक्ष, सिंहदरबार पुग्नुभएको हो । उहाँहरुबीच २० मीनेट शिष्टाचार भेटवार्ता भएको हो ।

टिप्पणीहरू