कैदीलाई गाउँपालिकाको सुत्ने खाट

कैदीलाई गाउँपालिकाको सुत्ने खाट

तनहुँको भानु नगरपालिकाले कारागारमा रहेका कैदीबन्दीका लागि सुत्ने खाट बाँडेको छ । नगरपालिकाले हिजो कारागार प्रशासनलाई खाट हस्तान्तरण गरेको हो ।

कैदीबन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यले १४ थान ‘डबल बेड’ साइजको खाट प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले बताए । कैदीबन्दीको सहजता र नगरपालिकाको सामाजिक उत्तरदायित्वको महसुस गरेर खाट सहयोग गरिएको उनको भनाई छ ।

उनले भने,‘कैदी बन्दीको सहजताका लागि विभिन्न पालिकाले सहयोग गर्दै आइरहेको छ । कारागारका तर्फबाट हामीलाई पनि सहयोगका लागि अनुरोध आएको थियो । त्यसैबमोजिम हामीले नगरपालिकाको जिम्मेवारी र सामाजिक उत्तरदायित्वको महसुस गरेर सहयोग गरेका हौँ ।’ 

त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले कारागारलाई गृहको रुपमा विकास गर्ने योजना रहेको बताए । उनका अनुसार यसअघि कारागारलाई व्यास नगरपालिकाको तर्फबाट ४०, म्याग्दे गाउँपालिकाको तर्फबाट ११, बन्दीपुर गाउँपालिकाको तर्फबाट ५, क्रिष्टिना गुरुङको तर्फबाट ६ थान खाट सहयोग भइसकेको छ । 

शुक्लागण्डकी नगरपालिकाले ५० हजार सहयोग गरेको उनको भनाइ छ । त्यस्तै, देवघाट र घिरिङ गाउँपालिकालाई पनि सहयोगका लागि अनुरोध गरिएको सहायक सिडिओ गौरेले बताए । जिल्ला कारागार तनहुँले हालै नयाँ भवन पनि बनाएको छ । यसअघि पुरानो भवन र क्षमताभन्दा बढी कैन्दीबन्दी भएका कारण भुईँमा सुत्नुपर्ने बाध्यता थियो ।

टिप्पणीहरू