फागुनभित्र कर तिर्नेलाई जरिवाना छुट

फागुनभित्र कर तिर्नेलाई जरिवाना छुट

आँउदो फागुन मसान्तभित्र सवारी कर तथा नवीकरण भुक्तानी गर्ने सवारी साधनलाई जरिवाना छुट दिइने भएको छ ।  बागमती प्रदेश आर्थिक ऐन, २०७९ को दफा १८ ले आर्थिक वर्ष २०७०–२०७१ देखि २०७५–०७६ सम्म तोकेबमोजिम कर तथा नवीकरण भुक्तानी नगरेकालाई छुट दिन लागिएको हो । 

सवारीधनी आउँदो फागुन मसान्तभित्र सवारी कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ वा प्रचलित कानुनबमोजिम सो अवधिको जरिवाना छुट दिने यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), काठमाडौंले जनाएको छ । 

कार्यालयले आज सूचना जारी गर्दै कर तिर्न बाँकी रहेका सवारी धनीलाई उक्त व्यवस्थाको लाभ लिन भनेको छ । ‘कर तिर्न बाँकी भएका सवारी साधनका सवारी धनीहरुले उक्त व्यवस्थाको लाभ लिनुहुन सूचित गर्दै आफ्नो नाममा दर्ता कायम सवारी साधनहरुको कर, जरिवाना तथा नवीकरण दस्तुरहरु समयमै भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ । 

त्यस्तै, ट्राफिक कारबाहीमा परेर प्रहरी कार्यालयमा रहेका सवारीहरुको अविलम्ब कर, नवीकरण तथा दण्ड दस्तुर तिरेर सवारी फिर्ता लिन सम्बन्धित धनीलाई कार्यालयले सूचना गरेको छ । कर भुक्तानी नगरेका सवारी साधन एवम् सवारी धनीहरुको लगत तयार गरि सम्बन्धित स्थानीय तहसंगको सहकार्यमा कर संकलनको कार्य कडाइका साथ लागू गर्न लागेको बताइएको छ । 

सवारीधनीहरुलाई सवारीसाधन कर, नवीकरण शुल्क र दण्ड जरिवानाको रकममा कुनै पनि उन्मुक्ति नमिल्ने उल्लेख गर्दै कार्यालयले समयमै सवारी कर तथा प्रचलित बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ ।
 

टिप्पणीहरू