भ्यालेन्टाइनका लागि गुलाब आयातमा रोक
सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । प्रेम दिवसका लागि भारतलगायत अन्य मुलुकबाट गुलाबको फूल ल्याउने क्रम बढेपछि सरकारले रोक लगाएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत प्लान्ट, क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रकी प्रमुख साबित्री बरालले विभिन्न नाकाको क्वारेण्टाइन कार्यालयलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्म गुलाबको फूल आयात नगर्न भनेकी छिन् ।
जसअनुसार काँकडभिट्टा, भण्टावारी, विराटनगर, मलंगवा, जलेश्वर, विरगंज, तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, गड्डाचौकी, लोमान्थाङ्गलगायतका नाकाबाट फूल आयात गर्न पाइने छैन् ।
‘केन्द्र तथा अन्तर्गतका कार्यालयहरुबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात गर्नका लागि आयात अनुमतिपत्र जारी नगर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ’, पत्रमा भनिएको छ ।
टिप्पणीहरू