राष्ट्रपतिको सवारीपछि डाक्टरहरु आन्दोलित : वीर अस्पतालको सेवा ठप्प
वीर अस्पतालका आवासीय चिकित्सकहरुले हिजो साँझदेखि वीर अस्पताल र नाम्स ट्रमा सेन्टरको सेवा ठप्प पारेका छन् । हिजो अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन, नयाँ बानेश्वरबाट राष्ट्रपति भवन शीतल निवास फर्कने क्रममा प्रहरीले ट्रमामा कार्यरत एक जना चिकित्सकमाथि लाठी प्रहार गरेर टाउको फुटाएपछि वीरका डाक्टरहरु आन्दोलित भएका हुन् । नाम्स ट्रमा सेन्टरका वरिष्ठ चिकित्सक डा. जनिथ सिंह नियमित शल्यक्रियापछि घर फर्कने क्रममा राष्ट्रिय ट्रमा सेन्टर परिसर नजिकै प्रहरीद्वारा भीआईपी सवारीको बहानामा उनीमाथि लाठी प्रहार गरेको हो ।
त्यसपछि त्यहाँका चिकित्सक र कर्मचारीले शान्तिपूर्ण र सांकेतिक विरोध गर्दा अर्का डाक्टर जाफिर आलम र केही स्वास्थ्यकर्मीहरुमाथि प्रहरीले गालीगलौज तथा सांघातिक रूपमा निर्मम कुटपिट भएको रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले जनाएको छ । एसोसिएसनले भनेको छ, ‘यस घटनाले हामी आवासीय चिकित्सकहरुको सेवा गर्ने मनोबलमा गम्भीर असर परेको छ । सहकर्मी मित्रहरू प्रहरीको सांघातिक कुटपिटबाट गम्भीर घाइते भई उपचारत भएको अवस्थामा हामी सेवा प्रदान गर्न असमर्थ छौं ।’ एसोसिएसनले जारी गरेको विज्ञप्तिमा सांघातिक कुटपिट र गाली गलौज गर्ने प्रहरीहरुलाई तुरुन्त नियन्त्रणमा र आवश्यक कानुनी कारवाही नहुँदासम्म आफूहरु सेवामा नफर्कने चेतावनी दिइएको छ ।
साथै स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको प्रत्याभूति नहुँदासम्म उनीहरुले चिकित्सकीय सेवा नदिने जनाएका हुन् । अध्यक्ष डा. शेषराज घिमिरेले भनेका छन्, ‘यसबाट स्वास्थ्य सेवामा पर्न जाने असुविधाको सम्पूर्ण जिम्मा प्रहरी र सम्पूर्ण संगठनले लिनुपर्छ ।’ घाइते डा. सिंहलाई आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको बताइएको छ । राष्ट्रपतिको सवारीमा सवारी खाली गराउने, सर्वसाधारणलाई पैदल यात्रामा पनि रोक लगाउने सुरक्षा निकायको चलनका कारण प्रायः राजधानी उपत्यकाका सर्वसाधारणले दुःख पाउँदै आएका छन् ।
टिप्पणीहरू