कर्तव्यपालनाको क्रममा दिवंगत र घाइते परिवार भेट्दै सशस्त्र प्रहरी प्रमुख

कर्तव्यपालनाको क्रममा दिवंगत र घाइते परिवार भेट्दै सशस्त्र प्रहरी प्रमुख

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पर्वतको सदरमुकाम कुश्मा पुग्नुभएको छ । अर्याल २०५८ चैत २९ गते दाङको सतबरिया घटनामा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र सापकोटाको घर पुगेर परिवार र आफन्तजनसमक्ष समवेदना व्यक्त गर्नुभएको बताइएको छ ।

सशस्त्र प्रहरीले यो वर्षदेखि सम्बन्धित क्षेत्रका गण, गुल्मका कमाण्डरको नियमित भ्रमण तथा महानिरीक्षकको विशेष भ्रमणको क्रममा तत् क्षेत्रका घाइते, अंगभंग एवम् मृतक सशस्त्र प्रहरीका परिवारसँग भेटघाट गर्ने नयाँ परम्परा थालेको छ  । अर्याल पनि अहिले सोही सन्दर्भमा पर्वत पुग्नुभएको हो । 

‘चालु वर्षदेखि यो प्रचलन एपीएफले थालेको छ । सम्बन्धित क्षेत्रका कमाण्डरहरुले भेटघाट गरेर त्यस्ता परिवारको अवस्थाको बारेमा जानकारी लिने र उपयुक्त समयमा संगठन प्रमुखले गर्ने निरीक्षण भ्रमणको क्रममा ती परिवारसँग पनि कुराकानी गर्न थालिएको हो,’ सशस्त्र प्रहरी बलका प्रवक्ता तथा हालै डिआईजी बढुवाको सिफारिसमा परेका पुरुषोत्तम थापाले बताए ।

यसअघिका भ्रमण कर्मकाण्डीय निरीक्षणमा सीमित भएकाले महानिरीक्षक अर्यालले यो वर्षदेखि संगठनले उच्चस्तरको भ्रमणलाई पीडित परिवारका सदस्यसँग सम्वाद थालनीको रुपमा पनि प्रयोग गरेको भ्रमण दलमा रहेका एक जना अधिकृतले बताए ।

टिप्पणीहरू