दुई राजधानी जोड्ने दुवै सडक दुई महिनाका लागि बन्द

दुई राजधानी जोड्ने दुवै सडक दुई महिनाका लागि बन्द

बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने दुईवटै छोटो दूरीका मार्ग आगामी दुई महिनाका लागि बन्द गरिएको छ ।

हेटौंडा–भिमफेदी–कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकखण्ड आजदेखि दुई महिनाका लागि बन्द गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको उपस्थितिमा भएको सरोकारवाला निकायको समन्वयमा दुवै सडक द्रुत गतिमा निर्माण गर्न यो निर्णय गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविनकुमार सिंहले बताए । 

उनले उक्त सडकको वैकल्पिक मार्गको रुपमा हेटौंडाबाट काठमाडौँ जानका लागि हेटौंडा–कुलेखानी–मार्खु–चिल्लाङ–थानकोट सडक र काठमाडौँबाट हेटौँडा फर्किँदा कान्ति लोकपथ खण्डबाट यातायात सुचारु गरिएको जानकारी गराए । त्यसैले, यही वैकल्पिक सडकको प्रयोग गर्न सर्वसाधारणलाई उनले अनुरोध गरेका छन् । 

दुवै सडकमा स्तरोन्नति भइरहेकाले सवारीसाधन चल्दा काममा अवरोध पुग्नाका साथै घण्टौँको जामले यात्रुलाई सास्ती हुने भएकाले सडक निर्माणलाई तीव्रता दिन र यात्रुको सहजताका लागि आवागमन बन्द गर्ने निर्णय गरेको प्रवक्ता सिंहको भनाई छ । 

मन्त्रालयले भैंसे–भिमफेदी, हेवी–कंलकी–हुमाने, हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको ठेक्का लगाएर निर्माणको कार्य गरिरहेको छ । यसअघि भिमफेदी-कुलेखानी खण्डको निर्माण सम्पन्न भइसकेको छ । यो सडक बागमती प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका सचिव, कर्मचारी र सरकार सञ्चालन गर्ने संघ र प्रदेशका व्यक्तिहरुले संघीय राजधानीसम्म ओहोर–दोहोर गर्ने प्रमुख मार्ग हो । 

दुवै सडक लामो समयदेखि जीर्ण हुँदा यात्रुले सास्ती खेप्नुपरेको भन्दै प्रदेशसभाका सदस्यहरुले सडक स्तरोन्नतिका लागि प्रदेशसभाको अघिल्लो कार्यकालदेखि नै आवाज उठाउँदै आएका थिए । त्यस्तै, ठेक्का लागेर पनि समयमै निर्माण सम्पन्न नहुँदा सडकको दुरावस्थाले प्रदेश सरकारको समेत आलोचना हुदैँ आएको छ । 

त्यसैले, एक साताअघि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सो सडकको अवस्थाबारे चासो देखाउँदै सरोकारवाला निकायसँग छलफल गरेका थिए । छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, श्रम, रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठका साथै जिल्ला प्रशासन कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, स्थानीय तह, आयोजना कार्यालय, टाटासुमो यातायात समितिका प्रतिनिधि, निर्माण व्यवसायीलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू