अदालतमा मुद्दा चल्दाचल्दै जागिरमा फुत्त

अदालतमा मुद्दा चल्दाचल्दै जागिरमा फुत्त

सम्पत्तिको डंगुरमा पुरिएर अख्तियार लागेका कर्मचारीले फ्याटै माथ्लो दर्जामा नाम निकाले, लोकसेवा र अख्तियार हेरेको हे¥यै ! अकुत सम्पत्ति आर्जनको मुद्दा चलिरहेका भूपू नायब सुब्बाले दुईवटा संवैधानिक निकायलाई जिल्लाराम पारेर हालै अधिकृतमा नाम निकालेका छन् ।

४ वर्षको जागिरे जीवनमा ४ मन्त्रीको सचिवालयमा बसेर आर्जित ६ करोड सम्पत्तिको स्रोत देखाउन नसकेपछि अख्तियारले विथ ल्याबका मालिक भीमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । 

२०७३ असोज १९ मा ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा वरिष्ठ व्यवस्थापन सहायक (नासुसरह) नियुक्त भई भोलिपल्टदेखि कार्यालयमा एक दिन पनि हाजिर भएनन् तर सिंहदरबारमा जागिर खाइरहे । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेदेखि, कृष्णबहादुर महरा, वर्षमान पुन, आशा कोइरालासम्मको सचिवालयमा बसे । शक्तिशाली मन्त्रीको सचिवालयमा बसेका उनलाई त्यसपछि झापा फर्कनु परेन ।

हितराज पाण्डेसँग पाँच महिना, वर्षमान पुनसँग चार महिना, आशासँग सात महिना र वर्षमान पुनसँग साढे दुई वर्ष काम गरे र स्वैच्छिक अवकाशको बाटो रोजे, ०७७ असार ३०गते । जागिरे अवधिमा उनले वैध आम्दानी ११ लाख ५० हजार ९९१ रुपैयाँ ९० पैसा तलबबापत आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ तर चार मन्त्रीको सचिवालयमा बस्दा झण्डै ६ करोड अकुत आर्जन गरेको अभियोगसहित अख्तियारले गुल्मीको मालिका गाउँपालिका–५ का उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले हुलाकमा खरदार पत्नी विमलालाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेपछि उनी निलम्बनमा छिन् । 

राजीनामापछि बिध म्यानेजम्यान्ट प्रालि खोलेर आरडिटी कीट र पिसिआरको व्यापार गर्न थाले । कोभिड कालमा ओम्नी मुछिएपछि रातारात कुपण्डोलमा कार्यालय खडा गरी बिध म्यानेजमेन्ट प्रालिले सरकारी ठेक्का पट्टा हात पार्न थाल्यो । शुरूमा उनले बिध म्यानेजमेन्टमार्फत ¥यापिड डायग्नोस्टिक टेस्ट किट (आरडीटी) को व्यापार थाले । झण्डै २५ करोडको व्यापार भयो । यसका अलावा निर्वाचन आयोगसँग मिलेर हरेक निर्वाचन क्षेत्रमा सिसि क्यामेरा राख्ने नाममा थप ११ करोडको व्यापार गरे । 

नायव सुब्बा सरहको जागिर छाडेर २ वर्षअघि बिथ ल्याबमार्फत व्यवसायमा लागेका भण्डारीले यति छोटो अवधिमा अकुत सम्पत्ति कसरी आर्जन गरे ? त्यसको स्रोत के हो ? अख्तियार खोजी नीतिमै छ । कोरोना र निर्वाचनको खेती सकिएलगत्तै भीम अधिकृत तहको परीक्षामा भिडे । लोकसेवा आयोगले विज्ञापन नम्बर १६६९५ –०७७/७८ खुलातर्फ प्रशासन सेवा सामान्य प्रशासन समूहको नतिजा सार्वजनिक गर्दा गुल्मीकै २५ जनाले शाखा अधिकृतमा नाम निकाले । त्यसमा नाम देखिएपछि जनआस्थाले जिज्ञासा राख्दा पड्किँदै भने, ‘परीक्षा दिएको थिएँ । निस्कियो होला नि ! तपाईंहरूले खेदिरहनुभएको छ, खेद्नुहोस् न, कति र कहाँसम्म खेद्नसक्नुहुन्छ !’

यद्यपि लोकसेवाबाट नाम निकाल्ने भीमकान्त भण्डारीको ठेगना धुर्काेट ७ गुल्मी उल्लेख गरिएको छ । विशेषमा मुद्दा परेका भीमकान्तको पु्ख्र्याैली ठेगानाचाहिँ मालिका गाउँपालिका–५ उल्लेख छ ।
यता, विशेष अदालतमा मुद्दा चलिरहेको व्यक्तिले लोकसेवा भिडेर नाम निकालेको जिज्ञासा राख्दा अख्तियारका पदाधिकारीहरूले ‘आफ्नो कार्यक्षेत्र भित्र नपर्ने’ जवाफ दिएका छन् । लोकसेवाका पदाधिकारीले चाहिँ विशेषमा मुद्दा चलिरहेको भए पनि फैसला नभइसकेको र अदालतले भ्रष्ट ठहर गरेपछि आयोगमा उजुरी परेको खण्डमा मात्र नियुक्ति प्रक्रिया रोकिने’ प्रतिक्रिया दिएका छन् ।

 

टिप्पणीहरू