प्रहरीको गाडीमा आगजनीपछि हवाई फायर, बालाजुको स्थिति तनावग्रस्त
बालाजुको माछापोखरी स्थित बाईपास क्षेत्रमा गाडीमा आगजनी र हवाई फायर गरिएपछि अवस्था तनावग्रस्त भएको छ । नेकपा एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आयोजना गरेको कार्यक्रमपछि अवस्था तनावग्रस्त बनेको प्रहरीको भनाइ छ ।
संगठनका अध्यक्ष भीम ज्वालाको नेतृत्वमा यातायात व्यवसायीहरूले लाइसेन्स खारेजीको विरोध गर्दै आज प्रदर्शन गरेका हुन् । ट्राफिक प्रहरीद्वारा छ पटक चिट काटेपछि सवारी लाइसेन्स निलम्बन हुने विषयमा उनीहरुले आपत्ति जनाएका हुन् ।
प्रदर्शनको क्रममा गाडी बाटोमा तेर्साएपछि सडक अबरुद्ध भएको प्रहरीको भनाइ छ । प्रदर्शनकारीले टाएर बालेर बिरोध गरेपछि प्रहरीले टायर निभाउन खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
झडपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो । सोही क्रममा प्रदर्शनकारीले प्रहरीका दुई वटा गाडीमा आगजनी गरेपछि स्थिति थप तनावग्रस्त भएको बताइन्छ । उनीहरुले बालाजुका डिएसपीले प्रयोग गरेको गाडी बा.२ झ १४९ नम्बर र प्रहरीकै सीआरभीको बा.१ ज ७२२४ नम्बरको गाडी जलाइदिएका छन् । साथै माछापोखरी चोकमा रहेको ट्राफिक प्रहरी पोष्टमा पनि आगो लगाएका हुन् ।
यसैबीच ट्याक्सी चालकहरुले भोलि सबै ट्याक्सी ग्यारेजमा थन्काएर चोक चोकमा भेला हुने बताएका छन् ।
टिप्पणीहरू