मजदुरको माग पूरा गर्न उपप्रधानमन्त्रीको अग्रसरता, यातायात सुचारु गर्न आन्दोलनकारी सहमत

मजदुरको माग पूरा गर्न उपप्रधानमन्त्रीको अग्रसरता, यातायात सुचारु गर्न आन्दोलनकारी सहमत

आफ्ना माग पूरा गराउन सार्वजनिक यातायात ठप्प पारेका यातायात व्यवसायी र मजदुरहरु सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाइएको बैठकमा सहभागी भएका छन् ।

बिहान ९ बजेदेखि भएको वार्तामा सहमति भएको बताइएको छ । सहमतिअनुसार मजदुरहरुलाई कुटपिट गर्नेहरुमाथि कारवाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा गरेको अनियमिततालगायत विषयमा छानबिन गर्ने र बाँकी मागका सम्बन्धमा मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने सहमति भएको छ ।

अहिले यातायात सेवा सुचारु गर्न व्यवसायी र मजदुरहरु सहमत भएको बताइएको छ । बैठकको अध्यक्षता उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ स्वयम्ले गर्नुभएको बताइन्छ ।

त्यसैगरी मन्त्रालयका सचिव केशवकुमार शर्मा, यातायात विभागका महानिर्देशक तुलसीनाथ गौतम, डिआजी मिरा चौधरी, यातायात व्यवसायी महासंघका महासचिव देवनाथ गौतम पनि बैठकमा सहभागी छन् ।

अन्य सहभागीहरुमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई, प्रगतिशील यातायात मजदुर संगठनका अध्यक्ष राजेन्द्र शर्मा, स्वरोजगार यातायात मजदुर संगठनका अध्यक्ष खड्कबहादुर गिरी, एकीकृत यातायात संगठनका अध्यक्ष रवि केसीलगायत दुई दर्जनको संख्यामा रहेको बताइएको छ ।

टिप्पणीहरू