हड्ताल फिर्ता तर सर्वसाधारणलाई सास्ती उस्तै

हड्ताल फिर्ता तर सर्वसाधारणलाई सास्ती उस्तै

आन्दोलनरत यातायात व्यवसायी र मजदुरहरुले आजको यातायात बन्दको कार्यक्रम फिर्ता लिए पनि सडकमा सार्वजनिक यातायातका साधन गुडेका छैनन् । बिहान भएको सरकारसँगको वार्तामा सहमति गरेपछि पनि उनीहरुले सार्वजनिक यातायात सुचारु गरेका छैनन् ।

आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरूले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा छलफल गरेका हुन् । छलफलमा भएको सहमतिअनुसार आजको विरोध कार्यक्रम स्थगित गरिएको बताइएको थियो ।

तर, राजधानीका अधिकांश सडकमा सार्वजनिक यातायातका साधन गुडेका छैनन् । भित्री शहरमा एकाध ट्याक्सी देखिए पनि बस, माइक्रोबस र ट्याम्पो गुडेका छैनन् । सार्वजनिक यातायात सुचारु नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । 

बिरामी, अशक्त, महिला र केटाकेटी पैदल यात्रा गर्न बाध्य भएका छन् । विशेषगरी बिरामीलाई अस्पताल आउजाउ गर्न सकस भएको देखिन्छ । आज बिबाहलगायत अन्य सामाजिक कार्यमा हिँडेकाहरु पनि सार्वजनिक सवारी साधनको अभावमा पैदल यात्रा गर्न बाध्य भएका छन् ।

टिप्पणीहरू