‘सरकार मुकदर्शक हुँदा १० करोडको मोबाइल लुटियो’
नेपाल मोबाइल व्यवसायी महासंघले हिजो नयाँ बसपार्क क्षेत्रको मोबाइल पसलबाट १० करोडको मोबाइल लुटिएको आरोप लगाएका छन् । यातायात मजदुरहरुले गरेको चर्को प्रदर्शन र झडपपछि बसपार्कसँगैको मलमा भएको मोबाइल पसल लुटपाटमा त्यति बराबरको क्षति भएको उनीहरुको भनाइ छ ।
आज नेपाल मोबाइल व्यवसायी महासंघले राजधानीमा गरेको पत्रकार सम्मेलनमा गोंगबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको क्षतिपूर्ति आन्दोलनकारीहरुको संगठन र सरकारले दिनुपर्ने माग गरिएको छ ।
महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले मोबाइल व्यवसायीहरुका माग सम्बोधन गर्न दुई दिनको समयसीमा दिएका छन् । अन्यथा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । लुटपाट भएको घण्टौंसम्म राज्य मौन बस्नुले व्यवसायीहरुलाई आक्रोशित तुल्याएको उनले बताए । यसबाट मुलुकको सुरक्षा व्यवस्था पनि उदाङ्गो भएको व्यवसायीहरुको भनाइ छ ।
महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले त्यहाँ रहेका आफ्नो दुई वटा पसलबाट कम्तीमा ९ करोड रुपैयाँ बराबरको मोबाइललगायत सामाग्रीहरु लुटिएको बताए ।
व्यापारीहरुले पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक गरेका छन् । क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको बताइएको छ ।
टिप्पणीहरू