चलचित्र बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबई एअरपोर्टमा पक्राउ

चलचित्र बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबई एअरपोर्टमा  पक्राउ

नेपाल चलचित्र बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई दुबई अन्तराष्ट्रिय विमानस्थलमा समातिएका छन् । बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई जान लागेका उनलाई विमानस्थलमा खटिएको सुरक्षाकर्मीले नक्कली डलरसहित नियन्त्रणमा लिएको हो । 

भट्टराईसँगै अर्का एक जनालाई पनि विमानस्थलमा खटिएका सुरक्षाकर्मीले समातेको छ । स्रोतका अनुसार भट्टराई र उनीसँग रहेका व्यक्तिले बोकेको डलरमध्ये धेरैजसो नोट नक्कली थिए । विमानस्थलमा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई ५ घण्टाभन्दा बढी केरकार गरेको बताइएको छ ।

 विमानस्थलमा उनीहरूले नेपालको सिभिल बैंकमा आफूहरूले डलर साटेको ‘स्लिप’ देखाउँदै उम्किन खोजेपनि सुरक्षाकर्मीले छोड्न मानेका थिएनन् । पछि दुबईमा बस्ने अर्का एक नेपाली युवाले आफू ‘ग्यारेण्टी’ बस्ने गरी आइडी कार्ड ‘धरौटी’ बुझाएपछि उनीहरू रिहा भएका हुन् ।

नेपाली अधिकारी नक्कली डलरसहित समातिएपछि दुबईको सुरक्षा निकायले पनि यो विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ । नक्कली डलर बरामद भएपछि यूएईका सुरक्षा एजेन्सीहरूले यो ‘अवार्ड कार्यक्रम'लाई सुक्ष्म ढंगले निगरानी गरिरहेका छन् ।

 नक्कली डलर प्रकरणमा अमेरिकाको सिधा चासो रहन्छ । त्यसैले पनि यो विषयलाई दुबईले गम्भिर ढंगले लिएको हो । नेपालको सिभिल बैंकबाट साटिएको भनिएको डलर कसरी नक्कली भयो भन्ने विषयमा दुबईको सुुरक्षा निकायले नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान अगाडि बढाएको छ ।

टिप्पणीहरू