मुस्ताङबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्यो, सबै यात्रु घाइते
मुस्ताङबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । मुस्ताङको थसाङ गाउँपालिका–३ धम्पुमा आज बिहान साढे ८ बजे ना ७ ख ७४४० नम्बरको बस दुर्घटना भएको हो ।
म्यादी कोरोला यातायातको बस सडकबाट करिब ५० मिटर तल कालीगण्डकी नदीमा खस्दा बसमा सवार यात्रुसँगै चालक र सहचालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसी) रवीन्द्र पौडेलले बताए । उनका अनुसार घाइतेमध्ये दुईको अवस्था निकै गम्भीर रहेको छ । त्यस्तै, ३ जना सामान्य र १२ जना मध्यम घाइते भएको उनले जानकारी दिए ।
सामान्य घाइते भएका ३ जनाको हाल नजिकको लेतेस्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बाँकीको थप उपचारका लागि एम्बुलेन्समा पोखरा पठाइएको छ । डिएसी पौडेलका अनुसार बसमा मुस्ताङ घुम्न गएका दुई भारतीय पर्यटक पनि सवार रहेको खुल्न आएको छ । साथै, म्यादी र मुस्ताङका स्थानीय पनि उक्त बसमा सवार थिए ।
प्रहरी चौकी नजिकै दुर्घटना भएकाले उनीहरुको तत्कालै उद्धार गरिएको थियो ।
टिप्पणीहरू