नक्कली लाइसेन्स बनाउने गिरोह सक्रिय

नक्कली लाइसेन्स बनाउने गिरोह सक्रिय

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने एउटा गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले किर्ते गरेर लाइसेन्स बनाउने गिरोहका तीन जनालाई आज नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा पोखराकी कञ्चन गुरुङ्ग, नुवाकोटका अनिल राई र नुवाकोटकै राजन तामाङ छन् । नक्कली लाइसेन्स बनाएर प्रयोग गर्दै आएको थाहा पाएपछि त्यसमा संलग्नहरुको खोजी गर्ने क्रममा कञ्चनलाई काठमाडौंको रामशाहपथ, अनिललाई सामाखुशी र राजनलाई बालाजुबाट समातिएको प्रहरीले जनाएको छ । 

कञ्चनले गंगा तामाङको लाइसेन्समा आफ्नो फोटो टाँस्न अनिललाई पाँच हजार रुपैयाँ दिएको अनुसन्धानको क्रममा खुलेको छ । त्यस्तै, अनिलले आफूले त्यहाँबाट एक हजार पाँच सय रुपैयाँ राखेर उक्त फोटो, कागजात र तीन हजार पाँच सय रुपैयाँ राजनलाई दिएका थिए । 

राजनले गंगाको लाइसेन्समा कञ्चनको फोटो टाँसेर नक्कली लाइसेन्स बनाइदिएका हुन् । उनले अन्यलाई पनि पैसा लिएर नक्कली लाइसेन्स दिलाउँदै आएको प्रहरीको भनाइ छ । 

राजनविरुद्ध यसअघि जिल्ला प्रहरी परिसर, जावलाखेलमा लिखित कसूरसम्बन्धी मुद्दा चलिरहेको बताइएको छ । यता, उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकू पठाइएको छ ।

टिप्पणीहरू