यी हुन् मोबाइल पसल लुटपाटमा संलग्न चार जना
गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा दैलेखको भगवती गाउँपालिका–३ घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, सामाखुशीका ३५ वर्षीय नवीन खड्गी, रुपन्देहीको खैरेनी नगरपालिका–५ स्थायी ठेगाना भएका र अहिले काठमाडौँ– २६ मा बस्ने वर्ष २२ को सुजन खत्री, झापाको शिवसताक्षी नगरपालिका–४ घर भई हाल स्वयम्भू बस्ने प्रदिप बस्नेत छन् ।
प्रहरीले उनीहरुको साथबाट आरओएचएस लेखेको कालो रंगको एउटा डिजिटल घडी, उक्त घडीको चार्जर, हाइटेक लेखिएको एयरफोन दुईटा, एउटा मल्टिप्लग, एक प्याकेट अगरबत्ती, बट्टासहितको एउटा रेड्मी कम्पनीको स्क्रिन टच मोबाइल, चार हजार रुपैयाँ बराबरको एनटिसी र एनसेलको रिचार्ज कार्ड, बट्टासहितको रेड्मी नोट ११ एस मोबाइल र ३३ डब्लु लेखिएको चार्जर बरामद गरेको छ ।
अस्ति यातायात व्यवसायीहरुले नयाँ बसपार्क क्षेत्रमा गरेको आन्दोलनले उग्ररुप लिँदा नजिकैको लोत्से मलको मोबाइल पसलमा लुटपाट भएको थियो । आन्दोलनकारीको एउटा समूहले अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रा.लि, डायमण्ड मोबाइल प्रा.लि. तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केटमा प्रवेशगरी पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोनलगायत सामान लुटेको थियो ।
तत्काल प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडांैबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गरी अनुसन्धान थालिएकोमा उनीहरुलाई सोमबारै नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थपेर प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ । साथै घटनामा संलग्न अन्यलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ्ग गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू