वाणिज्य विभागबाट तीन जना बिचौलिया पक्राउ
प्रहरीले काठमाडौंको बबरमहलस्थित वाणिज्य विभागबाट तीन जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । विभागमा पुगेका सेवाग्राहीहरुलाई काम छिटो गराइदिने प्रलोभनमा रकम माग्दै गरेको अवस्थामा उनीहरु आज दिउँसो पक्राउ परेको बताइएको छ ।
बिचौलियाले सर्वसाधारणलाई हैरानी दिएको सूचना प्रहरी वृत्त सिंहदरबारमा पुगेपछि प्रहरी टोली त्यहाँ पुगेको हो । टोलीले आवश्यक सोधपुछ गर्ने क्रममा उनीहरुले उल्टै विवाद र प्रतिरोध गरेपछि पक्राउ गरिएको प्रहरीको दाबी छ ।
प्रहरीले उदयपुरको ताप्लिङ गाउँपालिका ५ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने ५१ वर्षे क्षेत्रबहादुर खड्का, रामेछापको रामेछाप नगरपालिका ९ घर भई हाल भक्तपुरको सूर्यविनायक २ बस्ने वर्ष ३४ को राज लामा र उदयपुरको ताप्लिङ ५ घर भई हाल मध्यपुर थिमी १ बस्ने २९ वर्षे निरज बुढाथोकीलाई पक्रेको हो ।
पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आजै सात दिनकोे म्याद थपको अनुमति लिइएको हो । उनीहरुमाथि प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
टिप्पणीहरू