समाधान भएन नेपाल टेलिकमको समस्या, सेवाग्राही सँधै मर्कामा
नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या अहिलेसम्म पनि समाधान भएको छैन । पछिल्लो पटक हिजो दिँउसो १ बजेदेखि नेटवर्कमा आएको समस्या समाधान नहुँदा टेलिकमका प्रयोगकर्ताहरु मर्कामा परेका छन् ।
टेलिकमको मोबाइल नेटवर्कअन्तर्गतका कुनै नम्बरमा फोन नलाग्ने, ब्यालेन्स चेक, एसएमएस, डेटासमेत चलाउन नमिल्नेजस्ता समस्या देखिएको छ । रिचार्ज गर्दासम्म मोबाइलमा पैसा आएको नदेखाएपछि ग्राहकहरु मर्कामा परेका हुन् । ब्यालेन्स आफै सकिरहेको टेलिकम उपभोक्ताहरुको गुनासो छ । म्यासेज पठाउन र पुग्न १० देखि १५ मीनेट लागिरहेको उनीहरु बताउँछन् ।
यता, अधिकांशको मोबाइल फोन पनि ‘वान वे’ बनाइएको छ । यो समस्या उपत्यकामा मात्र नभई देशभर देखिएको हो । हिजोदेखि लगातार नेटवर्कमा समस्या आँउदा समयमा मर्मत नगरेको भन्दै प्रयोगकर्ताहरुले आक्रोश पोखेका छन् ।
टेलिकमकी वरिष्ठ प्रशासनिक अधिकारी शारदाकुमारी अधिकारीले केही बेरमा यो समस्या समाधान हुने जानकारी दिइन् । सिस्टम बिग्रिएको र हाल टेलिकमले उच्च प्राथमिकताका साथ मर्मत गरिरहेको उनको भनाइ छ ।
‘हिजोदेखि सिस्टममा समस्या देखिएको हो । टेलिकमले मर्मत गर्न कोसिश गरिरहेको छ । केही बेरमै यो समस्या समाधान हुन्छ’, उनले भनिन् ।
टिप्पणीहरू