ग्यास पड्केर घाइते सांसद भण्डारीकी आमाको निधन
गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
गएराति ग्यास सिलिण्डर बिस्फोटमा परेका सांसद भण्डारी आमा दुबै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो । तर ८८ वर्षीया आमाको बिहान १० बजेर ५७ मीनेटमा निधन भएको बताइएको छ ।
सांसद भण्डारीको पनि सोही अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि एअर एम्बुलेन्समा मुम्बई लैजान खोजिएको पारिवारिक स्रोतले यसअघि बताएको थियो ।
चिकित्सकका अनुसार डा. भण्डारीको करिब ३० प्रतिशत र आमाको शरीरको ७० प्रतिशत भाग जलेको थियो । साथै दुबै जनाको फोक्सोमा धुवाँ पसेकाले अवस्था गम्भीर बनेको हो ।
गए राति १० बजे बुद्धनगरस्थित निवासमा ग्यास पड्किएपछि उहाँहरु दुबै जनाको शरीरको भाग जलेको थियाे।
टिप्पणीहरू