ल्होत्से मलको मोबाइल पसल लुटपाटमा संलग्न थप समातिए
गोगंबुस्थित ल्होत्से मलमा भएको लुटपाट र गाडी आगजनीको घटनामा संलग्न एक दर्जन बढीको समूह पक्राउ परेको छ । गत फागुन १ गते यातायातसम्बद्ध संघसंस्थाको आन्दोलनको क्रममा मलभित्र पसेर लुटपाट गर्ने र गाडी जलाउनेलाई प्रहरीले क्रमशः समात्न थालेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज १५ जनालाई पक्रेको छ । ल्होत्से मलमा लुटपाटमा संलग्न तीन र आगजनी तथा तोडफोडमा संलग्न १२ जनालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले बताए ।
लुटपाट गरेर समातिनेमा काभ्रेपलाञ्चोकका सुरज मगर, उदयपुरका रितेश बस्नेत, मोरङका यमन राई छन् । त्यस्तै, नुवाकोटका सुनिल कालिकोटे, माछापोखरीका रोमन नगरकोटी, माधव शाही, नुवाकोटका सुदिप तामाङ, केशर राई, सिन्धुलीका ईन्द्र तामाङलाई पनि पक्राउ गरिएको छ ।
धादिङका इलाराज गुरुङ्ग, उदयपुरका राजन राउत, काभ्रेका हरिशरण तामाङ, धादिङका विकाश गुरुङ, चितवनका संविधान परियार र सामाखुशीका कविन खड्गी आगजनी र तोडफोड गरेको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आज पक्राउ गरी अपराधिक उपद्रव गर्न नहुने र चोरीसम्बन्धी कसूरमा अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, बालाजु र महाराजगञ्ज पठाइएको छ । प्रहरीले हिजो १० जनालाई पक्राउ गरेको थियो ।
टिप्पणीहरू