सांसद चन्द्र भण्डारीको स्वास्थ्य अपडेट : आगामी ४८ घण्टा भेण्टिलेटरमा राखिने

सांसद चन्द्र भण्डारीको स्वास्थ्य अपडेट : आगामी ४८ घण्टा भेण्टिलेटरमा राखिने

अस्ति राति काठमाडौंस्थित निवासमा ग्यास सिलिण्डर पड्केपछि घाइते हुनुभएका काँग्रेस सांसद चन्द्र भण्डारीको हिजो रातिदेखि भारतको मुम्बईमा उपचार भइरहेको छ । स्थानीय नेशनल बर्न सेन्टरको आईसीयुमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

उहाँलाई राति साढे १० बजे डा. सुनिल केस्वानीले उपचार थाल्नुभएको बताइएको छ । चिकित्सकको सल्लाहअनुसार भण्डारीको शरीरमा पानी र झोल पदार्थको मात्रा बढाएर दोब्बर पारिएको छ । आज बिहान ११ बजे पहिलो र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने तालिका अस्पतालले आफन्तजनलाई बताएको छ ।

गए मध्यरातमा डा. संदीप मिस्त्रीले भण्डारीको स्वास्थ्य अवस्थाको जानकारी दिँदै भनेका छन्, ‘बिरामीका अन्य सबै पक्ष सकारात्मक छन् । ४८ घण्टा भेन्टिलेटरमा राखिने छ ।’ अर्का चिकित्सक डा. अमुलले पनि राति नै सांसद भण्डारीको मुुटुको चाल नर्मल रहेको बताउँदै एण्टीबायोटिक्स थप केही दिन नियमित दिनुपर्ने भएकाले आत्तिनु नपर्ने विवरण सुनाएका थिए ।

भण्डारी र घाइते आमाको पहिले मीनभवनस्थित निजामती अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि राति नै कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याए पनि ८८ वर्षीया आमाको हिजो बिहान निधन भएको हो । सांसद भण्डारीलाई हिजो अपरान्ह मेडिकल टिमसहित श्री एअरलाइन्सको विमानमा राखेर मुम्बई पुर्याइएको हो ।

टिप्पणीहरू