बर्खास्त जर्नेलको फैसला उल्टियो
आर्थिक अनियमिततामा मुछेर बर्खास्त गरिएका सहायक रथी प्रयोगजंग राणाविरुद्ध सैनिक विशेष अदालतको फैसला उल्टिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा ‘भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य’ भन्दै बर्खास्त गरिएका एकतारे जर्नेल राणाले अब नयाँ निर्णयअनुसार पेन्सनलगायत सुविधा पाउनेछन् ।
राणालाई आर्थिक अनियमितताको आरोपमा २०७७ साउन ३२ गते बर्खास्त गरिएको थियो । जेठमा पक्राउ गरेर सैनिक हिरासतमा राखिएका उनीमाथि झण्डै दुई महिना लामो अनुसन्धान चलेको थियो । आफ्ना उच्च अधिकारीहरू भ्रष्टाचारमा संलग्न भएको भन्दै तत्कालीन सेनापतिले थुप्रै जर्नेल, कर्णेलको जागिर खाइदिएका थिए ।
यसक्रममा सुरेन्द्र रावल, पंकज कार्कीलाई सनकको शिकार बनाइयो भने हर्ताकर्ता जर्नेल रघु भण्डारीकी छोरी र नवजीव राणाका छोराको घरायसी झगडामा बदमासी ढाकछोप गर्न नमानेबापत लेबनानमा तैनाथ लेफ्टिनेन्ट कर्णेल चन्द्र चापागाईं, पाँचखाल तालिम केन्द्रका महासेनानी नवीन सिल्वालको समेत गाँस बास, उठिबास बनाइयो । बाबुराम श्रेष्ठले समेत झण्डै कोतपर्व झेल्नुपरेन । अहिले आएर भक्तपुर स्कूलका कर्णेल देव क्षेत्री राजीनामा दिएर कोर्टमार्शलबाट जोगिएको अवस्था छ ।
छाउनी हस्पिटल र ०७५ सालमा पाँचखाल तालिम केन्द्रमा रहेर निरीक्षणाधिकृत (आइजी) महानिर्देशनालयमा आइपुगेका सहायक रथी राणासहित महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मीठुराम विश्वकर्मा पनि भ्रष्टाचार मुद्दामा सँगसँगै तानिएका थिए ।
सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहर गर्दै उनीहरू पनि बर्खास्त भए । सैनिक अदालतले राणालाई एक करोड ७२ लाख र सिलवाललाई १५ लाख ७९ हजार ४८० रूपैयाँ जरिवाना सुनाएको थियो । त्यस्तै, सैनिक ऐन, २०६३ बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य भनी बर्खास्तसमेत गरिएको थियो । आफूलाई बर्खास्त गरिएपछि असन्तुष्ट बनेका राणाले पुनरावेदन गरेका थिए ।
‘भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठहरिने’ भन्ने फैसला बिशेष अदालतले संशोधन गरेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । ‘यसअघि अयोग्य ठहरिने गरी बर्खास्त गरिएको रहेछ । अदालतको पछिल्लो फैसलाले त्यसलाई संशोधन गरेर नठहरिने बनाएको छ’, उनले भने ।
टिप्पणीहरू