जताततै लागुऔषध कारोबारी, २४ घण्टामा १५ जना पक्राउ
मुलुकका विभिन्न स्थानबाट एकैदिन १५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–२३, बेलापुलबाट कोरेक्स एकसय एमएलको ९९ थान र नाइट्राभेट ६ सय ट्याब्लेटसहित भारतीय नागरिक २० वर्षीय निजान नदाफ र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी जिरोमाइलबाट खटिएको टोलीले बीआर ३२ एच १४६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागुऔषधसहित समातेको हो ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसीबाट ३ ग्राम ५६ मिलिग्राम चरेश र खैरो हेरोइन १४ मिलिग्रामसहित सोही स्थानमा भाडामा बस्दै आएका १९ वर्षीय बिवेक बोहरा र अर्का एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
झापाको बुद्धशान्ति गाउँपालिका–४, जुनेली बस्तीबाट ८ सय १० मिलिग्राम ब्राउनसुगर, स्पास्पेन ट्याब्लेट ५५ पत्ता, ट्रामाडोल हाइड्रोक्लोराइड ५५ पत्तासहित स्थानीय २० वर्षीय सुरज मगर जर्गा र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुधबारेबाट खटिएको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
यता, झापाकै मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल अगाडिबाट खैरो हेरोइन ५ ग्रामसहित अर्जुनधारा नगरपालिका–३ का २४ वर्षीय ऐतराज इवा समातिएका छन् । उनीसहित दुई जना समातिएकोमा अर्का व्यक्तिको परिचय खुलेको छैन । लागुऔषध नियन्त्रित ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
त्यसैगरी, पर्साको वीरगञ्ज महानगरपालिका–१६, शंकाराचार्य गेट नजिकैबाट डाईजेपाम १ सय ८८ एम्पुल, बुप्रोनोर्फिन ७० एम्पुल, प्रोमिथाजाइन १ सय ७० एम्पुल र लेबल नभएको ईन्जेक्शन १ सय १५ थानसहित लागुऔषध कारोबारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समातिनेमा सोही महानगरपालिका–१६ का २६ वर्षीय रिहाजुल साफीसहित दुई जना छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
वीरगञ्जकै बसपार्क भानुचोकबाट नाईट्राजेपाम २ सय ८० ट्याब्लेट, डाईजेपाम १५ एम्पुल, फेनारगन १५ एम्पुल र नोर्फिन १५ एम्पुलसहित चितवन भरतपुरका २० वर्षीय सुजन ठकुरी पक्राउ परेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उनलाई उक्त लागुऔषधसहित फेला पारेपछि नियन्त्रणमा लिएको बताइएको छ ।
यता, हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित होटलबाट कोडिविल एकसय एमएलको ५० बोतलसहित दुई जना प्रहरी नियन्त्रणमा पुगेका छन् । बाराको निजगढ नगरपालिका–७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना र अर्का एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त होटलमा लागुऔषध बिक्री भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले खानतलासी गर्दा उनीहरु प्रहरीको फन्दामा परेका हुन् । उनीहरूले प्रयोग गरेको ना.३७ प ६७०३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।
उदयपुरमा पनि लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी समातिएका छन् । कटारी नगरपालिका–४, कटारीबाट नाईट्राभेट २ सय ६५ ट्याब्लेट, लुपिजेसिक ४० एम्पुल, डाईजेपाम ४२ एम्पुल र एल्जिक ७ एम्पुलसहित स्थानीय ३७ वर्षीय हरिकृष्ण सुनुवारलगायत दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उदयपुरकै उदयपुरगढी गाउँपालिका–७, दमाईकोटेबाट २० केजी गाँजा बरामद भएको छ । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ स.१० प ७१५३ र स.७ प १५२३ नम्बरका मोटरसाइकल छाडेर त्यसमा सवार व्यक्तिहरु भागेपछि मोटरसाइकल जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरुको खोजी भइरहेको जनाइएको छ ।
टिप्पणीहरू