२८ किलो गाँजा बोकेका २० वर्षे सशस्त्र प्रहरीको नियन्त्रणमा
सुनसरीमा गाँजा बोकेर हिँडेका एक जनालाई प्रहरीले पक्रेको छ । हरिनगर गाँउपालिका ७ स्थित देवानगञ्ज पुल नजिकैबाट २० वर्षे मोहम्मद रुस्तमलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
गएराति सशस्त्र प्रहरी बलको टोलीले भण्डै २८ के.जी.गाँजा र ट्रयाक्टरसहित उनलाई नियन्त्रणमा लिएको हो । बिओपि घुस्की सुनसरीले दुहबी नगरपालिका ४ का मोहमदलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
दुहबीबाट घुस्कीतर्फ आउँदै गरेको को.२ त ७९९३ नम्बरको ट्रयाक्टर जाँच गर्दा ट्रयाक्टरको ट्रलीको तल्लो भागमा फल्सबटम बनाएर उक्त गाँजा लैजाँदै गरेको अवस्थामा फेला परेको हो । ती गाँजा तीन वटा बोराभित्र १४ पोकामा राखिएको थियो । सशस्त्रले रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारबाहीको निम्ति इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीमा बुझाएको छ ।
यसैबीच मोरङको बुढीगंगा गाउँपालिका १ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले चोरी पैठारी गरिएको लत्ताकपडा र घरायसी सामान बरामद गरेको छ । ती सामान झण्डै दुई लाख १२ हजार रुपैयाँ बराबरको रहेको जानकारी दिइएको छ ।
भारतबाट भन्सार छलेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणको टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ ।
टिप्पणीहरू