उधारो उठाउन व्यापारीको दैलो चाहार्दै भन्सारका हाकिम

उधारो उठाउन व्यापारीको दैलो चाहार्दै भन्सारका हाकिम

सामान्यत: भन्सार वापतको रकम सरकारी खातामा जम्मा नगराई सामान छुट्दैन । तर, हुम्लाको यारी भन्सार कार्यालयले भने उधारोमा सामान छोड्ने गरेको पाइएको छ । चीनबाट आएका सामग्री बुझ्ने व्यापारी हिल्सा नआएपछि सामानको विवरण तयार गरेर यहाँका कर्मचारीले भन्सार रकम उधाराेमा राख्ने गरेका हुन् ।

भन्सार कार्यालय प्रमुख रामराज जैसी यतिबेला उधारो उठाउन काठमाडौँमा छन् । हिल्सामा पुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुरको बिल काटे पनि व्यापारीका कारण रकम असुल गर्न नसकेको उनले बताए । सबै व्यापारीसँग काठमाडौंमा सम्पर्क भइसकेकाले रकम उठ्ने उनको विश्वास छ । 

चीनबाट आयात भएको सामानको भन्सार महसुल १० लाख रहेकोमा एक लाख ८० हजार मात्र असुल भएको र ८ लाख २० हजार उठाउन बाँकी रहेको उनले सुनाए । खाद्यान्न र लत्ताकपडा ल्याउनेले मात्र भन्सार दस्तुर तिरेर आफ्नो सामान छुटाएका हुन् । असुल गर्न बाँकी रकम विकास निर्माण सामग्रीको रहेको छ । 

अब काठमाडौंमै भन्सार असुल गरेर नगद जम्मा गरिने कार्यालय प्रमुख जैसीले बताए । पुस १३, १७, १८ र २१ गते गरी चार पटक एकतर्फी रूपमा चीनले नाका खुलाएर सामान नेपाल पठाएको थियो । जम्मा ३४ गाडी सामान नेपाल भित्रिएकोमा ११ हजार बोरा सिमेन्ट र तीन गाडी सरिया आयात भएको भन्सार कार्यालयले बताएको छ । 

हिमपातले नारा लेकको सडक बन्द भएका कारण सो सामान पनि हिल्सामै थन्किएको छ ।

टिप्पणीहरू