मानव अधिकार उल्लंघन तथा ज्यादतीमा ७ हजार बढी पीडित

मानव अधिकार उल्लंघन तथा ज्यादतीमा ७ हजार बढी पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । इन्सेकको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा सन् २०२२ मा उक्त संख्यामा मानवअधिकार उल्लघंन भएको उल्लेख छ ।

सन् १९९२ देखि हरेक वर्ष प्रकाशन हुँदै आएको मानव अधिकार वर्ष पुस्तक २०२३ मा अघिल्लो वर्षको तुलनामा यसपटक मानव अधिकार उल्लंघनका घटना बढेको हो । सन् २०२१ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित थिए ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सन् २०२२ मा राज्य पक्षबाट भएका मानव अधिकार उल्लंघनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना पीडित भएका हुन् । अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ र तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसहित ६ हजार ७ सय ५४ जना पीडित भएको बताइएको छ । 

सार्वजनिक गरिएको तथ्याङ्कअनुसार महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी ४ हजार २ सय २८ जना पीडित रहेको देखिएको छ । महिलाविरुद्धको हिंसामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १ हजार ६ सय २३ जना पीडित छन् । 

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ९ सय ५६, प्रदेश नम्बर १ मा ४ सय ५७, बागमती प्रदेशमा ४ सय ३४, गण्डकी प्रदेशमा ३ सय ३७, कणाीली प्रदेशमा २ सय ११ र मधेश प्रदेशमा २ सय १० जना पीडित रहेको इन्सेकले जनाएको छ ।

टिप्पणीहरू