अमेरिकाबाट लगातार भ्रमण, फागुन दोस्रो साताकाे निम्ति अर्को तयारी

अमेरिकाबाट लगातार भ्रमण, फागुन दोस्रो साताकाे निम्ति अर्को तयारी

पछिल्लो एक महिनामा चार अमेरिकी अधिकारीहरुले नेपालको भ्रमण गर्ने भएका छन् । तीन जनाले भ्रमण गरिसकेका छन् भने अर्का एक जनाको भ्रमणको तयारी भइरहेको बताइएको छ ।

गत माघ १६ गते राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्याण्डले थालेको दुई दिने नेपाल भ्रमणपछि प्रायः हप्ता वरिष्ठ अधिकारीहरु काठमाडौं आएको देखिन्छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि ह्वात्तै बढेको भारतीय र अमेरिकी चासो यसबीचमा भइरहेका उच्चस्तरीय भ्रमणले पनि पुष्टि गरेको छ । 

फागुन २६ गते हुने राष्ट्रपति निर्वाचनअघि वरिष्ठ अमेरिकी र भारतीय अधिकारीहरुबाट भएको भ्रमणलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ । भारतीय विदेशमन्त्री विनयमोहन क्वात्रा गत सोमबार र मंगलबार राजनीतिक भेटघाट सकाएर नयाँ दिल्ली फर्केका थिए ।

त्यसअघि अमेरिकी सहयोग नियोग युएसआईडीकी प्रमुख सामन्था पावरले माघ २४ र २५ गते व्यस्त भ्रमण तालिका सकाएर नेपालबाट फर्किइन् । त्यसपछि फागुन पहिलो साता अर्की उपसहायक मन्त्री अफ्रिन अख्तरले पनि नेपालको भ्रमण गरिन् । 

दक्षिण तथा एसिया मामिला उपसहायक मन्त्री अख्तरको भ्रमणपछि आगामी साता राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसिया विभागकी वरिष्ठ निर्देशक इलिन लाउबाचार काठमाडौं आउने तयारी थालिएको स्रोतको दाबी छ । यसअघि उनले गत कात्तिक अन्तिम साता नेपाली राजदूत श्रीधर खत्रीसँग वाशिंगटनस्थित दूतावास पुगेर भेट गरेकी थिइन् ।

टिप्पणीहरू