भारतीय पूर्व सेनाध्यक्षहरू : हिजो मुक्तिनाथ, आज सोलुखुम्बुमा

भारतीय पूर्व सेनाध्यक्षहरू : हिजो मुक्तिनाथ, आज सोलुखुम्बुमा

नेपाली सेनाको २६० औं सेना दिवसमा निम्त्याइएका भारतीय पूर्व सेनाध्यक्षहरु सोलुखुम्बु पुगेका छन् । अस्ति दिउँसो सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा सहभागी पूर्व सेनाध्यक्षहरु भ्रमणको क्रममा दुई वटा हेलिकोप्टरमा आज बिहान त्यसतर्फ गएको बताइएको छ ।

उनीहरु सेनाको एनए ०५८ अगुस्ता र एनए ५३ एमआई हेलिकोप्टरमा बिहान साढे ७ बजेको समयमा त्यसतर्फ गएका हुन् । अगुस्तामा पूर्व सेनाध्यक्ष विश्वनाथ शर्मासहित छ जनाको टोली छ भने अर्को हेलिकोप्टरमा पूर्व सेनाध्यक्ष दीपक कपुरलगायत १९ जना रहेको बताइएको छ ।

हेलिकोप्टर काठमाडौंबाट स्याङबोचे पुगेर दिउँसो फर्कने कार्यक्रम छ । नेपालका मानार्थ सेनापतिसमेत रहेका पूर्व सेनाध्यक्षहरु विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दिपक कपुर र दलवीर सिंह सुहाग परिवारका सदस्यसहित नेपाल भ्रमणमा छन् ।

यसअघि हिजो जंगी अड्डामा भारतीय सेनाका पूर्व सेनाध्यक्षहरु र उहाँहरुका समकक्षी नेपालका पूर्व प्रधान सेनापतिहरुको भेटघाट भएको थियो । भेटघाटमा प्रधान सेनापति प्रभुराम शर्माकोसमेत उपस्थिति रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापतिहरुको सम्मेलन २०७९ नाम दिइएको उक्त भेटघाटमा सहभागीहरुबीच दुई मुलुक र दुई मुलुकका सेनाबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

हिजो बिहान भारतीय पूर्व सेनाध्यक्षहरु चारै जना, उनीहरुका परिवारका सदस्य र अन्यसमेतले जोमसोमस्थित मुक्तिनाथ मन्दिर पुगेर पूजापाठ गरेका थिए । ती सबै पाहुना सेनाको दुई वटा हेलिकोप्टरमा गएका हुन् ।

टिप्पणीहरू