जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिकस्तर उकास्न हिजो बसेको कार्यपालिका बैठकले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई पनि सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरेको हो ।

पालिकाका अध्यक्ष शुक्र चुमानले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएकाले पालिकाका ३४ जना जनप्रतिनिधिका छोराछोरीलाई पनि आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार पालिकाभित्रका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा करिब चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

‘सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर हामी भाषणमा त भन्छौँ तर व्यवहारमा लागू गर्दैनौँ,’ उनले भने, ‘खस्किँदो शैक्षिक स्तरका कारण अभिभावकहरुको सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । अहिले जोहीकोही निजी विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउन चाहन्छन् ।’ अभिभावकहरुको सामुदायिक विद्यालयप्रतिको सोचमा परिवर्तन ल्याउनुका साथै विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि उक्त निर्णय गरिएको अध्यक्ष चुमानको भनाई छ ।

‘पालिकाभित्र ३५ सामुदायिक विद्यालय छन् । तर पाँच विद्यालयमा भौतिक पूर्वाधारको अभाव हुनुका साथै विद्यार्थीको समेत कमी भएकाले ती विद्यालय विस्थापित गरी ३० विद्यालयलाई थप व्यवस्थित बनाउने निर्णय गरेका हौँ,’ उनले भने,‘गाउँपालिकाले विद्यार्थीको सहजताका लागि अनुदानस्वरुप हाल ५ ओटा बस सामुदायिक विद्यालयलाई वितरण गर्न लागेको हो ।’ 

यसैबीच पालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनमा विद्यालय स्थानान्तरण गरिएको छ । पालिकाका अध्यक्ष चुमानले वडा कार्यालयका लागि निर्माण गरिएको उक्त भवनमा इन्द्रदेवी आधारभूत विद्यालयको भवन जीर्ण रहेकाले स्थानान्तरण गरिएको बताए ।

टिप्पणीहरू