खचाखच कारागारबाट तीन जना मुक्त

खचाखच कारागारबाट तीन जना मुक्त -कमल भट्टराई

नेपालमा विभिन्न अवसर पारेर जेलमा रहेका कैदीबन्दीलाई माफी मिनाहा दिने परम्परा छ । यस्तो प्रचलन पञ्चायती शासनकालदेखिकै निरन्तरता हो । यस वर्षको प्रजातन्त्र दिवसको अवसरमा पनि सरकारले थुप्रै कैदीबन्दीको सजाय मिनाहा गरेको छ ।  

१०४ वर्षे जहानियाँ राणा शासनविरुद्धको आन्दोलनबाट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते मनाइएको प्रजातन्त्र दिवसको दिन गणतान्त्रिक सरकारले कैदी बन्दीलाई आममाफी दिएपछि ताप्लेजुङ कारागारबाट तीन जना छुटेका छन् । आठराई त्रिवेणी गाउँपालिका–३, हाम्पाङका विष्णुकुमार लिम्बू कुटपिट मुद्दामा १ वर्ष ६ महिना सजाय तोकिएर जेल भुक्तान गरिरहेकोमा ११ महिना ६ दिन माफी मिनाहा पाएर कैदमुक्त भएका छन् ।

अर्का कैदी आठराई त्रिवेणी–२, फूलबारीका टेकेन्द्र मगर ज्यान मार्ने उद्योगमा ४ वर्ष सजाय तोकिएर कैद भुक्तानी गरिरहेका थिए । उनी पनि २ वर्ष १ महिना २१ दिन माफी पाएर जेलमुक्त भएका छन् । त्यस्तै, मेरेङ्देन–२ सान्थाक्राका वसन्त श्रेङचङबाङ कर्तव्य ज्यानमा १३ वर्ष ४ महिना सजाय तोकिएर जेल भुक्तान गरिरहेको अवस्थामा ४ वर्ष ११ महिना माफी मिनाहापछि ताप्लेजुङ कारागारबाट बिदा भएका छन् ।

ताप्लेजुङमा वि.सं. १९५२ सालमा २५ जना कैदीबन्दी राख्ने क्षमताको कारागार निर्माण भएको थियो । अहिले २०७९ सालसम्म पनि त्यही राणाकालीन साँघुरो कारागार पहिलेझैँ चलिरहेको छ । एक सय २७ वर्षअघि त्यतिबेलाको जनसंख्यालाई ध्यानमा राखेर बनाइएको कारागारमा अस्ति ७ गते बिहानसम्म एक सय ५५ जना कैदीबन्दी थिए । तीन जनाले माफी मिनाहा पाएपछि थुनुवा ४० र कैदी एक सय १२ गरी एक सय ५२ जना खचाखच बस्न बाध्य छन् ।


 

टिप्पणीहरू