सिडिओको सरुवा बालकोटमा ‘सदर’ ?

सिडिओको सरुवा बालकोटमा ‘सदर’ ?

त्यसै होइन रहेछ, जतिसुकै जिद्धी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले रवि लामिछानेलाई गृह मन्त्रालय नदिनुभएको । उनले मन्त्रालय सम्हालेको एकै महिनामा एकपटक हैन, पटक–पटक मन दुखाउने काम गरेका रहेछन् ।

पुस ११ गते प्रचण्ड सरकारका मन्त्रीहरु सपथपछि सिंहदरबार छिरे । प्रचलनअनुसार मन्त्रिपरिषद्को पहिलो बैठक बस्नुपथ्र्यो, बस्यो । सञ्चार मन्त्री नियुक्त नभएको अवस्थामा केही दिनका लागि रविलाई प्रवक्ताको जिम्मेवारी दिने भनियो । ‘हैन, हैन । मैले यस्तो काम गर्ने होइन’ भन्दै पन्छिए । क्षेत्राधिकारमा पर्दैन थियो, तैपनि भोलिपल्टै त्रिपुरेश्वरस्थित राहदानी र कन्सुलर सेवा विभागमा पुगे । त्यहाँ राहदानी लिने लाइन लामो भयो भन्दै ‘हाइँहुँई’ गरे । विभिन्न जिल्लामा एसपीहरु काजमा पठाउनुपर्नेबारे प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्ने, गरेनन् । हुँदाहुँदा ४२ जिल्लामा सिडिओ र ७ जिल्लामा सहायक सिडिओको सरुवा गर्नुपर्ने बेला भयो । गृहमन्त्रीले निर्णयमा सही गर्नुअघि प्रधानमन्त्रीसँग अनौपचारिक रुपमा सूची देखाएर छलफल गर्ने चलन छ । तर, रवि त्यो सूची बोकेर बालकोट पुगे, प्रधानमन्त्रीकहाँ गएनन् । गृहसचिव विनोदप्रकाश सिंह गृहकै क्याडेट हुन्, कामको तौरतरिकाबारे मन्त्रीलाई सुझाएका पनि थिए । उनले ‘प्रधानमन्त्रीसँग परामर्श भयो ?’ भनेर सोधे । ‘भयो’ भन्ने जवाफ पाए ।

सरुवा सूची सार्वजनिक भएपछि प्रधानमन्त्रीको तर्फबाट एकजना नेताले सचिवलाई फोन गरेर भने, ‘यति संवेदनशील काम गर्दा एक बचन प्रधानमन्त्रीसँग सोध्नुपर्छ कि पर्दैन !’ सचिव छाँगाबाट खसेजस्तो भए । ‘मन्त्रीको पछि लागेर त हिँड्न सकिँदैन, मैले उहाँलाई सोधेँ, प्रधानमन्त्रीसँग कुरा भएको छ नै भन्नुभयो...’ यसो भन्दाभन्दै ती नेताले रिसाएर फोन काटिदिए । कुरा बुझ्दा प्रधानमन्त्रीसँग हैन, बालकोटमा एमाले अध्यक्ष केपी ओलीसँग रविले सल्लाह गरेका रहेछन् । ती नामको काँटछाँट पनि त्यतै गरेर ल्याएका रहेछन् । अर्थात्, रवि प्रधानमन्त्रीको हैन, बालकोटको निर्देशनअनुसार चलिरहेका थिए । त्योभन्दा संवेदनशील मामिला छ, आइजी नियुक्तिको । पर्सि फागुन ५ गते एआइजी पूजा सिंह अवकाश हुँदै थिइन् । त्यो दिनसम्म पाँचजना एआइजीको दरबन्दी खालि हुँदै थियो । पाँच वटा नाम बालकोटमा तयार पारिएको रहेछ, प्रधानमन्त्रीलाई अत्तोपत्तो थिएन । ओलीले किन ‘रविलाई गृह दिइहाल्नुस्, अहिल्यै, तुरुन्तै’ भनेर अत्तो थाप्नुका पछाडि रविका यिनै रवैया कारक रहेछन् भन्ने कुरा प्रचण्डले रविलाई अदालतले पदच्युत गरेपछि मात्रै थाहा पाउनुभएको हो ।

आफू प्रधानमन्त्री हुँदा व्यक्तिका सुराकी संकलन गरेर राख्ने र मौकामा पोल खोल्ने ओलीले आफ्नो बानी रविलाई सिकाइसक्नुभएको रहेछ । प्रहरीको सुरक्षा सेवा निर्देशनालय र विशेष कार्यदलसँग को मान्छे, कतिबेला, कहाँ पुगेको हुन्छ भन्ने सूचना हुन्छ । रविले यस्ता सूचना लिँदै बालकोट पु¥याउँदै गर्ने रहेछन् भन्ने कुरा प्रचण्डले उनी हटाइएपछि थाहा पाउनुभयो । रविले आफ्नो पत्रकार सम्मेलनमै भने पनि, ‘अदालतको फैसला आउने दिन बिहान क्याप्टेन रामेश्वर थापा कुन न्यायाधीशकोमा कतिबेला गए, मलाई थाहा छैन र ?’

त्यसमाथि राहदानी मुद्दाको अनुसन्धान र अभियोजन गर्नुपर्ने प्रहरीले । त्यही संयन्त्रलाई नेतृत्व गर्नुपर्ने व्यक्तिलाई मन्त्री बनाउने कुरा मनासिव नहुने ठहर गरी रविलाई त्यहाँ नपठाइएको प्रधानमन्त्री निकट एक नेताले जनआस्थालाई सुनाए । 
 

टिप्पणीहरू