जुम्लाको तातोपानीमा औद्योगिक ग्रामको तयारी
जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित रातेखोलामा औद्योगिक ग्राम स्थापना हुने भएको छ । गाउँका युवालाई रोजगारी प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यका साथ औद्योगिक ग्रामको स्थापना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाका प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार गत भदौ १० गते औद्योगिक ग्राम स्थापनाको निम्ति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सोही सूचनाको आधारमा आवश्यक प्रक्रिया पूरा गरी कार्यपालिकाको बैठकले वडा नम्बर ४ लाई औद्योगिक ग्राम स्थापनाको निम्ति छनोट गरेर मन्त्रालयमा प्रस्ताव पेश गरेको उनको भनाइ छ ।
‘सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रिपरिषद्को यही फागुन ४ को निर्णयबाट स्वीकृत भई पारित भइसकेको छ,’ उनले भने, ‘सो वडाको रातेखोलामा रहेको करिब १५ हजार आठ सय ८२ वर्गमिटर क्षेत्रफलमा औद्योगिक ग्राम स्थापना गर्न लागिएको हो ।’ वडाध्यक्ष रोकायाले औद्योगिक ग्रामको स्थापनाबाट गाउँका स्थानीयबासीले रोजगार पाउनुका साथै स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचलानमा समेत टेवा पुग्ने बताए ।
उनले भने, ‘पर्याप्त रोजगारीका अवसरका अभाव गाउँका युवाहरु भारतलगायत अन्य मुलुक विदेशिन बाध्य छन् । त्यसैले, औद्योगिक ग्रामको स्थापनाबाट गाउँका युवा पुस्ताले रोजगारी प्राप्त गर्नुका साथै स्थानीय जडीबुटी प्रशोधनमा समेत योगदान पुग्ने हाम्रो विश्वास छ ।’
स्थानीय स्रोतसाधन र प्रविधि परिचालन गरी स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले संघीय सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।
टिप्पणीहरू