राजधानीबाटै गाईपालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

राजधानीबाटै गाईपालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

भक्तपुरको चाँगुनारायण नगरपालिका १, समथलीका एक जना गाईपालक कृषक पाँच दिनदेखि बेपत्ता भएका छन् । शनिबारदेखि हराएका ४५ वर्षीय कुबिरबहादुर बस्नेत हालसम्म पनि फेला नपरेपछि परिवार चिन्तित बनेको छ । 

उनी सो दिन बिहान ९ बजेको समयमा मामा भेट्न भन्दै घरबाट निस्किएको परिवारको भनाइ छ । पाँच मीनेटको दूरीमा रहेको मामाघर आजसम्म नपुगेपछि परिवारले खोजी कार्य थालेको हो । ‘बुवा बिहान ९ बजेतिर मामाघर जान्छु भन्दै निस्किनुभएको थियो । दुई घण्टासम्म पनि नफर्किएपछि हामीले मामालाई सोध्यौं । मामाले आएकै छैन भनेपछि खोजी थालेका हौं’, छोरा मोहितले भने । 

दिनभर खोजतलास गर्दा पनि बुवा नभेटिएपछि दुवाकोटस्थित प्रहरी चौकीलाई जानकारी गराएको छोरा बस्नेतको भनाइ छ । हालसम्म पनि कुनै पत्तो नलागेपछि उनका परिवारले मध्यपुर थिमीस्थित प्रहरी कार्यालय गुहारेको हो । कुबिरले मोबाइल फोन नबोकेका कारण खोजी कार्यमा अप्ठ्यारो परेको मोहित बताउँछन् । 

‘त्यो दिन यता बत्ती थिएन । चार्ज नभएपछि घरमै फोन छाडेर जानुभएको रहेछ । पर्स पनि यहिँ छ, अन्य सामान पनि जस्ताको त्यस्तै छ’, उनी भन्छन्,‘बुवा मादक पदार्थ पनि सेवन गर्नुहुँदैनथ्यो । साथीको लहैलहैमा हिँड्ने खालको पनि हुनुहुन्न । उहाँ के कारणले यसरी हिँड्नुभयो, केही अनुमान नै लगाउन सकेको छैन् ।’

बुबालाई त्यस्तो कुनै तनाव नभएको मोहितको बुझाइ छ । दुई दिनअघि उनलाई काँडाघारीस्थित मूलपानी चौरमा देखेको जानकारी केही स्थानीयले कृषकहरुले परिवारलाई दिएका छन् । उनले आफ्नो गाईं बेच्नुपर्ने भएको र किनिदिन आग्रह गरेको कृषकहरुको दाबी छ । 

कुबिरले लामो समयदेखि गाईपालन गर्दै आएका छन् । उनले आफ्नै घरमा धेरै संख्यामा गाईपालन गरेका छन् । एक छोरा र एक छोरीका बुवा उनले त्यसबाटै घरखर्च धान्दै आएको बताइन्छ । अहिले पनि उनको घरमा पाँच वटा गाईं र दुई वटा बाख्रा छन् । 

उनलाई देख्नुहुने महानुभावलाई फोन नम्बर ९८६०३३९९५२ वा ९८६१८८८१०९ मा सम्पर्क गरिदिन अथवा स्थानीय प्रहरीलाई खबर गरिदिन परिवारले आग्रह गरेको छ ।
 

टिप्पणीहरू