प्रचण्डसँग 'फाइनल' कुरा गर्न बालुवाटार जानुअघि केपी ओलीको प्रतिक्रिया - एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ

प्रचण्डसँग 'फाइनल' कुरा गर्न बालुवाटार जानुअघि केपी ओलीको प्रतिक्रिया - एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाँले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने प्रष्ट पार्नुभएको हो । साथै उहाँले एमालेको उम्मेदवार पक्का भइसकेकोसमेत बताउनुभयो । 

राष्ट्रपतिमा सहमति खोज्न कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच भइरहेको छलफलबारे आफूलाई जानकारी नभएको भन्दै ओलीले भन्नुभयो, ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का छ । भोलि मनोनयन दर्ता गर्छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’ बानेश्वरमा यसो भन्नुभएका अध्यक्ष ओली अहिले प्रधानमन्त्रीसँग 'फाइनल' कुरा गर्न बालुवाटार पुग्नुभएको छ । 

एमालेले पछिल्लो पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार प्रस्ताव गरेको छ । यता, नेपाली काँग्रेसले आफ्नै उम्मेदवार राष्ट्रपति हुनुपर्ने अडान कायम राखेको छ । यसबारे छलफल गर्न आज बिहान पुरानो गठबन्धनका प्रमुख चार दलबीच बालुवाटारमै चार घण्टा छलफल भएपनि निष्कर्ष भने निस्किएको छैन ।

उनीहरु साँझ ५ बजे पुन: बैठक बस्नेगरी उठेलगत्तै ओली बालुवाटार पुग्नुभएको हो ।

 

टिप्पणीहरू