भारतीय वायुसेनाको विमानभित्र मौरिसस प्रहरीको हेलिकोप्टर
भारतीय वायुसेनाको विमान मौरिसस प्रहरीको हेलिकोप्टर बोकेर त्यहाँ पुगेको छ । मौरिससको प्रहरीले भारतबाट किनेको एडभान्स लाइट होलिकोप्टर (एएलएच एमके ३) बोकेर उक्त विमान गएको हो ।
मौरिसस प्रहरीले आफ्नो संगठनलाई थप सुृदृढ तुल्याउन भारतबाट नयाँ हेलिकोप्टर खरिद गरेको जनाएको छ । गत वर्ष हिन्दुस्तान एरोनटिक्स लिमिटेडसँग गरिएको सम्झौताबमोजिम हेलिकोप्टर हस्तान्तरण गरिएको मौरिससस्थित भारतीय दूतावासले जनाएको छ ।
हेलिकोप्टर बोकेर भारतीय वायुसेनाको एआईएफ सी १७ विमान अस्ति मौरिसस पुगेको थियो । भारतले पछिल्ला दिनमा विमान, हेलिकोप्टरलगायत रक्षासँग सम्बन्धित प्रविधि र साधनको निर्यातमा जोड दिँदै आएको छ ।
मौरिससले यसअघि नै भारतबाट त्यस्तै एउटा हेलिकोप्टर र डोर्निएर विमान किनेको थियो । पछिल्लो पटक खरिद गरेको हेलिकोप्टरले साढे ५ टन भार बोकेर उड्न सक्ने बताइएको छ । विशेषगरी उक्त हेलिकोप्टर प्राकृतिक विपद्को समयमा प्रयोग गर्न उपयुक्त हुने निर्माण कम्पनीले जनाएको छ ।
टिप्पणीहरू