माटो परीक्षणको उद्घाटन सम्पन्न, अनियमितताको रहस्योद्घाटन कहिले ?

माटो परीक्षणको उद्घाटन सम्पन्न, अनियमितताको रहस्योद्घाटन कहिले ?

काभ्रेको एउटा गाउँपालिकामा माटो परीक्षणको उद्घाटन भएको छ । तर, स्थानीय बासिन्दा सोही पालिकामा देखिएको एकपछि अर्को अनियमितताको रहस्योद्घाटनको पर्खाइमा बसेका छन् । 

भुम्लु गाउँपालिकाको अनियमितता र विकृतिको परीक्षण गर्ने अथवा कानुनको कहिले कार्यान्वयन गर्ने ? भन्दै पालिका प्रमुख प्रेमबहादुर भुजेललाई स्थानीयले प्रश्न गर्न थालेका हुन् । 

पालिकाको १२ औं सभाको अवसर पारेर अत्याधुनिक माटो परीक्षण केन्द्रको उद्घाटन गरेपछि स्थानीयले भुजेलसँग अनियमितताको बारेमा छानबिन गर्न माग गर्न थालेका छन् । प्रमुखले अत्याधुनिक माटो परीक्षण केन्द्रको रिबन काटेर उद्घाटन गरेका हुन् ।

किसानलाई सहजता हुने र कृषिमा थप राहत पुग्ने उद्देश्यले माटो परीक्षण केन्द्र स्थापना गरिएको जानकारी दिइएको छ । केन्द्रको स्थापनामा किसानहरु खुसी देखिए पनि मन खोलेर खुसी भएको देखाउन सकिरहेका छैनन् । गाउँपालिकामा भएको कीर्ते हस्ताक्षर काण्डलगायतको छानबिन दोषीमाथि कारबाहीको निम्ति स्थानीयले माटो परीक्षण केन्द्रको उद्घाटनको क्रममा आक्रोश पोखेको बताइन्छ । 

स्थानीय रामकृष्ण पहारीले भने,‘जसरी माटो परीक्षणको प्रयोगात्मक उद्घाटन पालिका प्रमुख आफैंले गर्नुभयो, त्यसैगरी भुम्लुभित्र दबाइएका विकृति र विसंगति पनि बाहिर ल्याउनुपर्यो । दोषीमाथि कारबाही हुनुपर्यो ।’

स्थानीयले पालिकामा भएको कर्मचारी नियुक्तिमा फेला परेको अन्तर्वार्ताको अडियो, विकास निर्माण कम्पनी र उपभोक्ता समितिलाई बेवास्ता गर्दै बनाइएको टोल सुधार समिति, ज्यान जोखिम, कीर्ते कागजातबाट भएको बजेट अनियमितता जस्ता विकृतिको चाँडै परीक्षण पालिका प्रमुखलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू