जनयुद्धका शहीदलाई राष्ट्रिय शहीदको मान्यता दिने प्रधानमन्त्रीको घोषणा

जनयुद्धका शहीदलाई राष्ट्रिय शहीदको मान्यता दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताउनुभएको छ । आज बिहान शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । 

प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने जनयुद्धका शहीदहरुको सम्मानमा उनीहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारले तयारी गरिरहेको पनि जानकारी दिनुभयो । 'आज जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीदहरु हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकारले जनयुद्धलगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको छ,' प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । 

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्रीले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, 'संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगोमा पुग्छ । जनयुद्धका शहीदहरुको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण, सन्ततिहरूको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।' 

अन्तरक्रियामा शहीद तथा बेपत्ता परिवारको तर्फबाट बोल्दै अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरिका शहीद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।

टिप्पणीहरू