ज्ञानेन्द्रद्वारा दिललाई दुःख

ज्ञानेन्द्रद्वारा दिललाई दुःख

हात्तीका चपाउने र देखाउने अलग–अलग दाँतजस्तै सामाजिक अभियन्ताको रूपमा उदाएर अहिले सांसद भएका ज्ञानेन्द्र शाहीबाट पीडित हुनेहरूको लाइन लाग्न थालेको छ । अहिले प्रतिनिधिसभामा उनी राप्रपाका सचेतक छन् । उनीबाट एकपछि अर्काे व्यवसायी पीडित भइरहेका छन् । उनले विभिन्न व्यक्तिलाई तिर्नुपर्ने लाखौँ रकम वर्षौंदेखि नतिरी हिँडेको भेटिएकै थियो । उनीबाट ठगिनेको भीडमा थपिएका छन्, कान्तिपथस्थित होटल एलो प्यागोडाका मालिक दिलविकास राजभण्डारी । दिलहरू एकातिर तोडिएर अर्काेतिर जोडिनुको पछाडिको मुख्य कारक पनि उनै ज्ञानेन्द्र शाही भएको रहस्य उनीनिकटस्थ एक नेताले जनआस्थालाई सुनाएका छन् । 

दिलको दुःख कस्तो भने, एकातिर अर्काेतिर कार्यालय भवनको पीडा छँदै थियो फेरि अर्काे टण्टो थपिएको छ ३० लाखको । राजेन्द्र लिङ्देनको राप्रपा परित्याग गरेर कमल थापाको पार्टीमा भित्रिनुको पछाडिको मुख्य कारक यही ३० लाखको हो भन्ने गरिन्छ । दिलविकासले स्वर्गीय आमाको स्मृतिमा १२ आना ३ पैसा जमिनमाथि धुम्बाराहीमा भवन बनाएका थिए । ०६९ सालमै निर्माण सम्पन्न गरेर पार्टीलाई बुझाए पनि लालपुर्जादेखि तिरो तिरेको कागजातसमेत उनीसँगै छ । कमल थापाहरूले चन्दा मागिरहने भएपछि उनले घर नै पार्टीलाई बुझाएका थिए । दुई कित्तामा बाँडिएको सो जग्गा छोरीको नाममा छ । जसको बजारमूल्य १० करोड माथि भएको भनिँदै आएको छ । 

दिलहरू कमल थापाबाट तार लागेन भनेर राजेन्द्र लिङ्देनको पार्टीमा पुग्दा सो पार्टी कार्यालय पनि उतै गयो । स्थानीय निर्वाचनमा पार्टी पत्तासाफ हुनु, अध्यक्ष राजेन्द्र लिङ्देनले रेखा थापादेखि ज्ञानेन्द्र शाहीहरूलाई महत्व दिने तर उनलाई अध्यक्ष जिताउनकै लागि अमेरिकादेखि नेपाल आएका दिलनाथ गिरीदेखि पुराना नेताहरू राजभण्डारी, बस्नेतहरूलाई बाइपास गरेर पार्टी चलाउन थलिएसँगै कमल थापालाई धोइ पखालेरै चलाउने योजनासाथ पुरानै घर फर्किए । दिलको दिल राजेन्द्रबाट तोडिनुको मुख्य कारण रहेछन् ज्ञानेन्द्र शाही । 

दिलविकासले आफू निकटस्थहरूलाई सुनाएअनुसार संघीय निर्वाचनको क्रममा पटक–पटक गरी ज्ञानेन्द्र शाहीले ३० लाख रूपैयाँ लगे । हरेक दिनजसो शाही एलो प्यागोडा पुग्थे । दिललाई फस्ल्याङ फुस्लुङ पारेर दिलको दिल पगालेर पैसा झार्थे । निर्वाचनअघि उनले पटक–पटक गरी ३० लाख रूपैयाँ झारे । नगद लगेको सहयोग मात्र रकम हो यो भौतिक र अन्य सहयोगको त हिसाबै छैन । पैसा झरुन्जेल ज्ञानेन्द्रले वचनबद्धता व्यक्त गरेका थिए कि ‘दाइ तपार्इंलाई जसरी पनि बाग्मती प्रदेशको सांसद बनाउँछु । बनाउन सकिनँ भने, म पनि राप्रपा पार्टी परित्याग गर्छु ।’ यही विश्वासको आधारमा उनले ज्ञानेन्द्रमाथि लगानी गरेका थिए ।

प्रदेशसभाको समानुपातिकतर्फ दिलविकासकै नाम अग्रपंक्तिमा थियो । काठमाडौं जिल्लाबाट राप्रपाको समानुपातिकतर्फ सिफारिस भएका र अन्तिम समयमा दिलविकासको नाममा टिपेक्स लगाएर भुवन पाठकलाई सांसद बनाइएको थियो । दरबारबाट दबाब आएका कारण देखाएर राजेन्द्र लिङ्देनले भुवन पाठकलाई सांसदमा अगाडि मात्र सारेनन् । केन्द्रीय गठबन्धनका कारण उनी बाग्मती प्रदेशको सभामुखसमेत बनेका छन् । संघीयताविरुद्ध उभिएको राप्रपाका महामन्त्रीसमेत रहेका पाठक अहिले त्यहाँका सभामुख चुनिएका छन् । उनलाई बाग्मती प्रदेशको सांसद पक्का बनाउँछु, नभए राप्रपा नै त्याग्छु भन्ने ज्ञानेन्द्र शाहीले राप्रपा त्याग्नु त परेको कुरा अहिले दिलविकाको फोनसमेत उठाउँदैनन् ।

ज्ञानेन्द्र तिनै पात्र हुन्, जसले ०७४ सालमै काँडाघारीमा तीन जनासँग मिलेर केटिएमबज डट कम शुरु गरेका थिए । काठमाडौंमा विद्युतीय सामान बेच्ने गरी शुरु भएको थियो त्यो अनलाइन व्यापार केही समयपछि उनीहरूले विद्युतीय सामानसँगै खाद्यान्नसमेत अनलाइनबाट बिक्री गर्न थाले । त्यही समय पार्टनरबीच खिचलो शुरु भयो र छुट्टीभिन्नसमेत भएको थियो । उनै ज्ञानेन्द्रले कालिमाटीमा जय पशुपतिनाथ सप्लायर्सबाट ०७५ सालमा ८ सय ४० बोरा चामल उठाए । जसको मूल्य झण्डै नौ लाख रूपैयाँ भएको सप्लायर्सका प्रोप्राइटर अरविन्द अग्रहरीले बताएका छन् । त्यसबेलाको नौ लाख रूपैयाँको न साँवा, न ब्याज नदिई व्यापारीलाई हालसम्म चिल्लीबिल्ली पारेको व्यापारी अग्रहरिले बताउँदै आएका छन् ।

 

टिप्पणीहरू