सर्भर डाउन, सक्नेले खाउन्
संयोग हो कि समयको माग मुलुकको सूचना प्रविधि क्षेत्रको उपल्लो पद अहिले पौडेलहरूको पोल्टामा छ । जस्तो नेपाल टेलिकमका हाकिम छन्, सुनील पौडेल, सेक्युरिटी प्रिन्टिङ प्रेसमा विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्र, अर्थात् एनआईआईटीसीमा कार्यकारी नियुक्त छन्, प्रदीप पौडेल । यी तीनै भाइ बिचौलिया दीपक भट्टका प्रतापले ठाउँ ठाउँमा फिट भएको गाइँगुइँ सञ्चार मन्त्रालयमा चल्दै छ ।
सर्भर डाउन हुँदा अस्ति सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान दुई घण्टा प्रभावित भयो । दुई हप्ताअघि मात्र लगातार सात घण्टा उडान प्रभावित भयो । टिआइएको सर्भर अरु सरकारी निकायकोझैं गृह मन्त्रालय पछाडिको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएको छ । यी सरकारी वेब होस्टिङको काम गृह मन्त्रालयपछाडि रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले गर्दै आएको छ । अहिले एनआईआईटीसीमा कार्यकारीको कुर्सीमा छन्, प्रदीप पौडेल । पौडेल त्यहाँ पुगेपछि एकै पटक देशैभरका सात हजार सरकारी कार्यालयको वेब होस्टिङ ह्याकरको निशानामा प¥यो । यसअघि प्याडक्स साइबर घोस्ट नामक फेसबुक पेजमार्फत ह्याकरले नेपालका ५८ वटा सरकारी वेबसाइटमा एकै पटक हमला गरेका थिए । केही वेबमा ह्याकरले अनेकथरी भाइरस हालेर त्यहाँका महत्वपूर्ण डाटा चोरे । अझै नेपाल प्रहरीकै वेब ह्याक गरी पोर्न भिडियो हालियो ।
यसरी मुख्यसचिवका नातेदार, बिचौलियाका प्रतापले सरकारी कार्यालयका हाकिम बनेका पौडेल आइटी क्षेत्रका जानकार हुँदै होइनन् । साधारण मास्टरी पेशा गरेर जीवन धान्दै आएका पौडेल सेन्ट जेभियर्स कलेजमा मास्टरी गर्दागर्दै एनआईआईटीसीमा कार्यकारी भएर छिरेका हुन् । उक्त केन्द्रको कार्यकारी निर्देशक हुन् विज्ञान, अर्थशास्त्र र सूचना प्रविधिलगायत तोकिएका विषयमा स्नातकोत्तरको मापदण्ड तोकिएको थियो । साथै, अनिवार्य प्रविधि क्षेत्रमा १० वर्षको अनुभव चाहिने भनिए पनि पौडेलसँग योग्यताको नाममा विश्वविद्यालयको प्रमाणपत्र मात्र रहेको सञ्चार स्रोतले जनाएको छ । स्रोतका अनुसार योग्यता नपुग्दा नपुग्दै पनि उनी मुख्यसचिव शंकरदास बैरागीका साढुभाइ भएका कारण त्यहाँ फिट भएका हुन् ।
उसै गरी सुरक्षण मुद्रण कोषका हाकिम कम ‘ब्रोकर कार्यकारी निर्देशक’ को भूमिकामा रहेर चर्चा र विवादमा आउने पात्र हुन् विकल पौडेल । सेक्युरिटी प्रेस, प्रिन्टिङ, इम्बोइस्ड हुँदै अन्तः शुल्कको स्टिकर (जो रूपैयाँ, पैसाभन्दा पनि अत्यन्त संवेदनशील मानिन्छ) छपाइमा समेत अनियमितताको गन्ध भेटिएको भन्दै सो कार्यालयमा पठाइएको बजेटमा अंकुश लगाइएको छ । खासमा अन्तशुल्कको स्टिकर छाप्ने काम राजश्व अनुसन्धान विभागको हो तर विभागसँग कुनै सम्झौता नगरी बजारमूल्यभन्दा झण्डै ५ गुणा महँगोमा स्टिकर छपाइ प्रक्रिया विकलले अघि बढाएको भेटिएको छ । पौडेल तिनै पात्र हुन्, जो सेक्युरिटी प्रेसको ७० करोड फण्डामा मुछिएर केही समय अमेरिकातिर लापत्ता भएका उनले सो प्रकरण मत्थर भएपछि स्वदेश फर्किएर इम्बोस्ड नम्बर प्लेटको फण्डा चलाए । अहिले अन्तशुल्कको फण्डा चलाइरहेका छन् । अनिवार्य नभएको राष्ट्रिय परिचयपत्र छपाउने धन्दा पनि उनै विकलको स्वार्थअनुसार भएको हो भनिन्छ ।
स्वार्थ समूहकै इन्ट्रेस्टमा ऐन नै संशोधन गरेर सुनील पौडेललाई नेपाल टेलिकममा लगिएको टेलिकमका कर्मचारी सुनाउँछन् । टेलिकममा ऐन संशोधन गरेर पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रबन्ध निर्देशक बनाइएको हो । उनी टेलिकमको हाकिमका रूपमा जानुअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । सूचना प्रविधि केन्द्रमा रहेर विभिन्न कानुन विपरीतका काममा संलग्न रहेका पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिँदा निर्देशिका नै संशोधन गरिएको थियो । अहिले अनेकन टेण्डरका नाममा खेलोफड्को चल्दै छ, भद्रकालीमा । यस्तै बिचौलिया तिनका नातेदार पोसिने र सर्वसाधारण सोसिने भएपछि मुलुक बन्ने र बनाइने कुरा दिवास्वप्न मात्र हो ।
टिप्पणीहरू