एकातिर नारा र दिवस, अर्कोतिर महिला हिंसा

एकातिर नारा र दिवस, अर्कोतिर महिला हिंसा

विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालमा रहेका महिलाको चरित्रहत्या गरेको आरोपमा गत फागुन ५ गते प्रहरीले एक युवकलाई पक्राउ गर्यो । महिलाको तस्बीर बिगारेर समाजिक सञ्जालमा हाल्ने र उनीहरुको चरित्र हत्या गरेको आरोपमा नेपाल फर्कने क्रममा रौतहटको देवाही गोनही नगरपालिका–५ टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव विमानस्थलबाटै समातिएका थिए । 

रोजगारीको सिलसिलामा मलेसिया पुगेका यादवले पीडित महिलासहित उनकी नाबालिका बहिनीसँगै भएको फोटो दुरुपयोग गरेका थिए । उनले पीडित परिवारलाई मानसिक तनाव, दुःख हैरानी दिने गरेको उजुरी परेपछि प्रहरीले यादवलाई नेपाल टेक्नेबितिक्कै समातेको हो । प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोगको आधारमा मलेसियाबाट नेपाल फर्कने क्रममा विमानस्थलमा पक्राउ गरेको थियो । 

त्यसअघि पुस १४ गते त्यस्तै अभियोगमा अर्का एक युवक पनि पक्राउ परेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी गर्ने क्रममा महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गर्ने र अन्य महिलाको नग्न फोटो जोडेर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको अभियोगमा भक्तपुर नगरपालिका–९ का २५ वर्षीय सुमन त्योछिनलाई साइबर ब्यूरोले पक्राउ गरेको हो । 

उनले पीडित र उनका आफन्त तथा साथीहरुले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा अश्लिल तस्बीर पठाई पीडितलाई मानसिक तनाव, दुःख, हैरानी दिने गरेको प्रहरीको भनाई छ ।

यी सबै पछिल्लो समय सामाजिक सञ्जालमार्फत महिलामाथि भइरहेका हिंसाका केही प्रतिनिधि घटनामात्रै हुन् । प्रहरीका अनुसार प्रविधिको दुरुपयोग गरेर हुने महिलाहिंसाका घटना क्रमशः बढ्दो छ ।  

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जसमा पुरुषभन्दा महिलाको जनसंख्या ६ लाख नौ हजार आठ सय ५८ संख्या बढी भएपनि नेपाल पुरुषप्रधान देशकै रुपमा चिनिन्छ । महिला भएकै कारण उनीहरुमाथि हुने विभिन्न खालका विभेदपूर्ण व्यवहार, शोषण, शारीरिक, मानसिक तथा यौनिक यातना तथा दुर्व्यवहारलाई महिला हिंसाका रुपमा लिइन्छ । 

विगतका समयमा अधिकांश महिला शारीरिक हिंसाको शिकार बनेको तथ्याङ्क भेटिन्छ । तर, अहिले त्यो अवस्था छैन । हिंसाको प्रकृति र प्रवृत्ति फेरिएको छ । पछिल्ला केही समय प्रविधिमार्फत् हिंसा भइरहेका छन् । जसमा कम उमेरका बालबालिकाहरु सामाजिक सञ्जालमा जोडिँदा उनीहरु पनि हिंसामा परेका छन् । 

साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा तीन हजार ९०६ उजुरी सामाजिक सञ्जाल दुरुपयोगसँग सम्बन्धित छन् । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्कले चार हजार ६८३ वटा उजुरी सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित रहेको देखाउँछ । चालु आर्थिक वर्षको फागुनसम्ममा सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित तीन हजार ८५३ वटा उजुरी दर्ता भएका छन् । 

यी अपराध फेसबुक, भाइभर, आइएमओ, युट्युब, वाट्सएप, ट्वीटर, इन्स्ट्राग्राम, टिकटकलगायत सामाजिक सञ्जालबाट भएका हुन् । तर, त्यसमा पनि फेसबुकमार्फत हुने अपराधको हिस्सा निकै बढी छ । चालु आर्थिक वर्ष २०७९/८० मा फेसबुकमार्फत भएका अपराधको संख्या मात्र दुई हजार ९२७ छ । जुन अन्य एपको तुलनामा निकै बढी हो ।  

साइबर ब्यूरोका प्रवक्ता पशुपतिकुमार राय पछिल्लो समय मानिसले कुनै पर्वाह नगरी आफ्नो व्यक्तिगत कुरासमेत फेसबुकमा पोस्ट गर्ने गरेकाले अपराधजन्य घटनामा बढोत्तरी भएको बताउँछन् । विश्वासको भरमा जोहीकोहीलाई फेसबुकमार्फत साथी बनाएर आफ्ना गोप्य कुरा शेयर गर्दा अपराध गर्नेको संख्या बढेको उनले बताए । 

प्रवक्ता रायका अनुसार ब्यूरोमा दिनहुँ सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित दर्जनौँ उजुरी दर्ता हुन्छन् । सामान्य चिनजानकै भरमा कसैलाई पनि साथी नबनाउन वा आफ्ना गोप्य तस्बीर, भिडियोलगायत अन्य कुनै पनि सामाग्री नदिन उनले आग्रह पनि गरे । 

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा जबरजस्ती करणीका २ हजार ५ सय ३२, जबरजस्ती करणी उद्योगका ७ सय ३६, बालयौन दुरुपयोगका २ सय ८१ र घरेलु हिंसाका १४ हजार २ सय ३२ उजुरी प्रहरीमा दर्ता भएका छन् । 

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा आइपुग्दा जबरजस्ती करणीका २ हजार ३ सय ८०, जबरजस्ती करणी उद्योगका ६ सय ५५, बालयौन दुरुपयोगका ३ सय १४ र घरेलु हिंसाका १७ हजार घटनामा महिला पीडित भएका छन् । 

चालु आर्थिक वर्षको फागुनसम्मको तथ्याङ्क हेर्दा जबरजस्ती करणीका १ हजार १ सय १६, जबरजस्ती करणी उद्योगका २ सय ७७, बालयौन दुरुपयोगका १ सय ४५ र घरेलु हिंसाका ७ हजार ६ सय ३० घटना प्रहरीमा दर्ता भएको देखाउँछ । 

नेपालमा प्रत्येक वर्ष महिला हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गरिन्छ । तर, प्रहरीको तथ्याङ्कले त्यस्ता अभियानको प्रभावकारितामाथि नै प्रश्न उठ्ने गरेको छ । अहिले हिंसाको प्रकृति र शैलीमा फरकपन आएको छ तर, रोकिएको छैन बरु झन् बढेको छ ।
 
फागुन २४ गते मुलुकभर विविध कार्यक्रमको आयोजना गरी ११३ औँ नारी दिवस मनाइने तयारी गरिएको छ । नारी दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा पनि तय गरेको छ । विगतका वर्षमा पनि यस्तै आकर्षक नाराका साथ महिला दिवस मनाइन्थ्यो । तर, यस्ता नारा केवल नारामै सीमित हुँदा महिला हिंसाका घटना दिनानुदिन बढिरहेको छ ।

टिप्पणीहरू