एमालेको सचिवालय बैठक च्यासलमा, सरकारबारे निर्णय हुनसक्ने

नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बैठक जारी छ ।

नयाँ सत्ता समीकरण बनेसँगै बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल तथा सरकारमा रहने, नरहने विषयमा निर्णय लिन एमालेले बैठक बोलाएको हो । यसअघि शनिबारको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन (फागुन २५ गते) सम्म सरकार नछोड्ने निर्णय गरेको थियो । 

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो परराष्ट्रमन्त्री विमला पौडेलको विदेश भ्रमण अन्तिम समयमा रोकेपछि एमालेका नेताहरु रुष्ट भएका छन् । हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिएको भन्दै चर्को विरोध गर्नुभएको थियो । त्यस्तै, प्रधानमन्त्रीले पनि एमालेसँगको २ महिने सहकार्यले आफूलाई उकुसमुकुस भएको टिप्पणी गर्नुभएको थियो ।  

यी घटनाक्रमले एमाले सरकार छोड्ने मनस्थितिमा पुगेको अनुमान गरिएको छ ।

टिप्पणीहरू