गाँजाको गोदाममा प्रहरीको छापा
मकवानपुर प्रहरीले यो साता गाँजा उत्पादन, ओसारपसार र गोदाममा छापा मारेको छ । उत्तरी मकवानपुरको कैलाश गाउँपालिका र उत्तरपश्चिम क्षेत्रकै राक्सिराङ गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणको गाँजा, गाँजा प्रशोधनका सामग्री, हातहतियार तथा सो कार्यमा संलग्नहरुलाई समेत पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार कैलाश गाउँपालिका वडा नम्बर ६ को दुम्सीखर्कस्थित ७६ वर्षका जीतबहादुर मुक्तानको घरगोठ खानतलासी गर्दा १५ क्वीन्टल १५ किलो गाँजा बरामद गरिएको हाे । सोही क्रममा १३ किलोग्राम चरेस पनि बरामद भएको जनाइएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख वामदेव गौतमले चरेश र गाँजाका साथै १ थान भरुवा, १ थान कटुवा पेस्तोल, म्यागजिनसहित ६ राउण्ड गोली, गाँजा उत्पादनमा प्रयोग हुने काठको फर्मा, तराजुसहित गाँजा प्याकिङका सामग्री पनि फेला परेको जानकारी दिएका छन् । विशेष सुराकीको आधारमा मुक्तानको घरमा प्रहरी निरीक्षक केशरकुमार न्यौपाने, सहायक निरीक्षक नवीनविक्रम थापा र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायव निरीक्षक उमेशप्रसाद कोइरी पुगेका थिए ।
गाँजा, चरेस, बन्दुक, गोली र बन्दोबस्तीका सामग्रीसहित पक्राउ गरिएकाहरुमा घरमुलीहरू मुक्तानसहित सोही स्थानका वर्ष २८ को विजय मोक्तान, वर्ष ४० को रत्न घले, वर्ष २२ को अशोक घले, वर्ष २२ को शिखर घले हुन् ।
यसैगरी प्रहरीले फागुन १४ गते लागूऔषध नियन्त्रणकै क्षेत्रमा अर्काे ठूलो कारबाही पनि गरेको छ । प्रहरी निरीक्षक न्यौपानेकै नेतृत्वमा खटिएको टोलीमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालसमेत संलग्न भएर राक्सिराङ गाउँपालिका वडा नम्बर ८, गोठडाँडा पुगेको टोलीले स्थानीय २५ वर्षीय प्रेम घलानको घरमा खानतलासी गर्दा १ क्वीन्टल ६३ किलोग्राम गाँजा बरामद गरेको हो । अर्का ४८ वर्षीय ठाकुरराम मोक्तानको घरबाट १ क्वीन्टल ८२ किलो गाँजा सोही टोलीले बरामद गरेको छ ।
घरमा लुकाइराखेको अवस्थामा गाँजासहित ती घरमूलीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐनबमोजिम कारबाही प्रक्रियाका लागि जिल्ला अदालतबाट अनुसन्धानको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको ढकालले जानकारी दिए ।
टिप्पणीहरू