एमाले कार्यकर्ताले उपमेयर कुटेको आरोप, माओवादी भन्छ : चुनावको रिस फेर्न महेश बस्नेतले गुण्डा लगाए

एमाले कार्यकर्ताले उपमेयर कुटेको आरोप, माओवादी भन्छ :  चुनावको रिस फेर्न महेश बस्नेतले गुण्डा लगाए

 

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भनेर चिनिएका पूर्वमन्त्री महेश बस्नेतमाथि मध्यपुर थिमीका उपमेयर विजयकृष्ण श्रेष्ठलाई कुटपिट गरेको आरोप लागेको छ । हिजो बिहान विकास निर्माण कार्यको शुभारम्भ गर्न पुगेका उपमेयर श्रेष्ठलाई बस्नेतको उक्साहटमा एमालेका स्थानीय कार्यकर्ताले हातपात गरेको बताइएको छ । 

बालकुमारी हात्तीमहांकाल सडकमा ढुंगा छाप्ने कामको उद्घाटन गर्न दुई पोखरी पुगेको नगरपालिकाको टोलीलाई एमाले कार्यकर्ताले अवरोध गर्दै उपमेयरमाथि हातपात गरेका हुन् । एमाले नगर कमिटीका सचिव मथिनपा–५ का सुमन जोशीको नेतृत्वमा रहेको एक समूहले उपप्रमुखमाथि सुनियोजित आक्रमण गरेको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठसहित त्यहाँ पुगेका उपमेयरलाई एमाले कार्यकर्ताले खोजी–खोजी आक्रमण गरेको माओवादीका एक स्थानीय नेताले बताए । दुधमा परेको झिंगा फालेजस्तै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई सरकारबाट निकालेको रिसमा उपमेयरमाथि बस्नेतका कार्यकर्ता जाइलागेको उनको भनाइ छ । त्यस्तै, गत संसदीय चुनावमा हारेको रिस पोख्न बस्नेतले विजयकृष्णलाई ‘टार्गेट’ बनाएको पनि उनले बताए ।  

२०७४ को चुनावमा माओवादीको भोट थपेर सांसद जितेका बस्नेत यस पटक पनि त्यस्तै चाहन्थे । त्यसका लागि माओवादीका मध्यपुर थिमी नगर अध्यक्षसमेत रहेका विजयलाई सहयोग गरिदिन आग्रह गरेका थिए । अर्को कार्यकाल एमालेले मेयरकै लागि सहयोग गर्ने प्रतिबद्धता जनाए पनि विजयले गठबन्धनलाई धोका दिन नसकिने जवाफ दिएपछि निर्वाचनकै बेलादेखिको रिस फेरेको माओवादी नेताहरुको दाबी छ । 

हिजो उनीमाथि हातपात गरेका एमाले नगर सचिव सुमन जोशीले पहिलेदेखि नै कुट्न आदेश पाएको धम्की दिँदै हिँड्ने गरेको नाम नलेख्ने शर्तमा एक स्थानीयले बताए । पछिल्लो समय भक्तपुरको सिडिओ र मध्यपुरको डिएसपी पनि आफैंले ल्याएको भनेर बस्नेतले हौसाएपछि जोशी आक्रमणमा उत्रिएको हुनसक्ने उनको बुझाई छ । 

‘उनलाई भक्तपुरका एसपीबाट मात्र समातिने डर छ । त्यसैले यो घटनामा जोशीलाई जोगाउन बस्नेतहरुले राजनीतिक रङ दिएका छन्,’ स्थानीय एक माओवादी नेताले भने, ‘विकास निर्माणमा मनोमानी ढंगले नगरपालिकाले उपभोक्ता समिति बनाएको भन्दै उल्टै एमाले आन्दोलनको नाटक गर्दैछ ।’

७० लाखको काम एमालेले बनाएको उपभोक्ता समितिबाट खोसेर छुट्टै समितिलाई दिएपछि विवाद बढेको हो । मध्यपुर थिमि नगरपालिकाले विकास निर्माणमा सहजीकरण गर्न जाँदा आफ्नो उपमेयरमाथि आक्रमण भएको भन्दै प्रहरीमा कारवाहीका लागि पत्राचार गरेको छ । पत्र पढ्दै बसेको प्रहरीले कारवाहीका लागि माथिको आदेश कुरिरहेको एक कनिष्ठ अधिकारी बताउँछन् ।


 

टिप्पणीहरू