नेपालको अर्थतन्त्रबारे सिन्ह्वाको विश्लेषण : यो वर्ष न्यून आर्थिक वृद्धिदर
नेपालको आर्थिक अवस्था डाँवाडोल हुँदै गएको सन्दर्भलाई छिमेकी मुुुलुकका सञ्चारमाध्यमहरुले समेत समेट्न थालेका छन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर पछिल्लो सात वर्षमा सबैभन्दा कम हुने निश्चित देखिएको छ ।
सिन्ह्वाले लेखेको छ, ‘यो वर्ष १ प्रतिशतभन्दा कम आर्थिक वृद्धिदर कायम हुनेछ । आर्थिक वर्षको पहिलो त्रैमासिकको आँकडाअनुसार मुश्किलले ०.८ प्रतिशत आर्थिक वृद्धि हुने अवस्था देखिएको छ ।’ सरकारी तथ्याङ्क र आँकडालाई उल्लेख गरिएको समाचारमा मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत गरिएको छ । यता मुलकका अर्थविद्हरुले पनि आर्थिक क्रियाकलपा शिथिल हुँदै जाँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । उनीहरुका अनुसार अर्थतन्त्रमा देखिएको संकुचनले आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पुगेको हो ।
अघिल्लो वर्ष सोही त्रयमासमा मुलुकको आर्थिक वृद्धिदर ३ प्रतिशतको हाराहारीमा थियो । यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ तर उपलब्धि १ प्रतिशतभन्दा कम हात लाग्ने सम्भावना बढेको छ । जबकी हालै सरकारले संशोधित आर्थिक वृद्धिदरको लक्ष्य साढे ४ प्रतिशत हुने बताएको थियो ।
सिन्ह्वाको समाचारमा मुलुकका पाँच वटा क्षेत्रको वृद्धिदर ऋणात्मक पाइएको उल्लेख छ । निर्माण, सवारी साधन तथा यातायातलगायतका क्षेत्रको वृद्धिदर घट्दो क्रममा गएको हो । यी सबै अव्यवस्थाको सुरुवात बैंकिङ प्रणालीमा देखिएको नगद तरलताको अभाव रहेको बताइन्छ ।
टिप्पणीहरू