नयाँ सनक र शहरी आतंकको शैली
– अधिवक्ता प्रेमराज सिलवाल
काठमाडौँमा पार्किङ ‘व्यवस्थित गर्ने’ नाममा शहरमा हिंसा मच्चिने अवस्था बन्यो, बन्दै छ । २ सय ८० प्रतिशतसम्म कर असुल्ने सरकार पार्किङ व्यवस्था गर्न सक्दैन । करोडौं कर र व्यवसायीलाई चौतर्फी लुट्ने महानगर विगतदेखि दिइएका र भएका सीमित पार्किङ, सेवा, सुविधा पनि पूरै कटौती गर्दै छ । डन्डाको प्रयोग गर्दै करदाता, व्यवसायी र स्थानीयलाई निर्मम दममा उत्रेको छ । सबै अवस्था नेपालको ‘नेपालबाट’ माथि उठ्न नसके पनि पार्किङजस्ता कार्यमा मात्र ‘सिंगापुर’ बनाउन खोज्दै छ ।
‘पब्लिक’लाई सहज गर्ने भन्दै स्थानीय व्यवसायी र बासिन्दाको कष्ट बढाएर ‘रियल भिक्टिम’ को पीडामा नुनचुक थप्ने काम काठमाडौँका मेयरले गर्दै छन् । वास्तविक पीडा नपर्नेको नजरबाट ‘ठीकै भयो’ भन्ने पनि लाग्न सक्छ । तर, त्यो होइन । लोकतन्त्रमा प्रत्येक नागरिक, व्यक्ति, समुदाय, क्षेत्र, पेशा–व्यवसाय तथा मानिसको आधारभूत सुविधा, अधिकार तथा हितको कसरी न्यूनतम क्षति गर्ने भन्ने हिसाबमा विचार गर्नुपर्ने हुन्छ । गैरनागरिक भुटानी शरणार्थी आदि समेतलाई हामीले बस्न खान दिएर पालेकै छौं । लोकतान्त्रिक प्रणाली भनेको सबैको साझा व्यवस्था हो, हुनुपर्छ । शक्तिशाली, ठूला र माथिका मात्रले अधिकार उपयोग गर्ने निरंकुश व्यवस्थामा हो । लोकतन्त्रमा ‘तिमी मात्र बाँच’ भन्ने होइन । ‘तिमी पनि बाँच, अरूलाई पनि बाँच्न देऊ’ भन्ने हो, हुनुपर्छ । सबैको अधिकार, हक र हितको सुरक्षा हुन सकेको खण्डमा मात्र सामाजिक असन्तुलन, द्वन्द्व, अविश्वास, अव्यवस्था तथा राज्यप्रतिको आक्रोश घटाउन सकिन्छ । ‘पब्लिक’लाई सहज बनाउने नारामा स्थानीय पक्ष वा ‘डाइरेक्ट इफेक्टेड’को अवस्था, आवश्यकता, स्थिति तथा वस्तुस्थितिलाई पूरै बेवास्ता गर्ने हो भने भोलिका दिनमा शहरी हिंसाको एउटा कारक त्यो पनि बन्ने अवस्था टड्कारो छ । शहरमा हिंसा, लात्ती भकुण्डको अवस्थामा ल्याउने यो एउटा कारक हुने देखिँदै छ ।
आफ्नो काम र व्यवहारबाट अर्काे मानिस र व्यक्तिको संवैधानिक, काुननी र प्रकृतिप्रदत्त अधिकार हनन हुन्छ कि भनेर डर मान्नुपर्छ ।
शहर र राजधानी स्थानीय घर हुने धनीको मात्र होइन, हुँदैन । भाडामा बस्ने, किसान, मजदुर, पीडित, अनेकौँ पेशा, व्यवसाय, व्यवहार र बाध्यताका मानिस पनि राजधानीमा बस्छन्, बस्न पाउँछन् । संसारभरि त्यस्तै हुन्छ । धनीको मात्र शहर हुने र बनाउने को भने त्यसले तीव्र असन्तुष्टि, हिंसा र सामाजिक द्वन्द्व निम्तन्छ । त्यति मात्र होइन, लुटपाट र अपराध मौलाउँछ । शहरमा ह्वील चेयरमा पानी बेच्नेलाई लछारपछार गर्नु कुन अर्थमा जिम्मेवार नगरपालिकाको पहिचान हो ? एउटा ठेलामा मकै पोल्नेलाई लात्तीबुट र मुक्का बजार्नुले सामाजिक न्यायको अवस्था कस्तो होला ? यद्यपि, महानगरमा जथाभावी छाडा गर्न दिने भन्ने कदापि होइन, हुँदैन । त्यो पाइँदैन पनि । निगमन र नियन्त्रता पनि आवश्यक हुन्छ, हुन्छ । तैपनि शक्तिको बढी प्रयोग गरी गैरकानुनी दमन, अनैतिक हर्कत, अव्यावहारिक नियन्त्रण र अमानवीय कारबाहीले हाम्रो लोकतन्त्र कस्तो बन्न पुग्छ ? यसतर्फ समयमै सोच्न सकिएन भने हिंसा र लात्ती भकुण्डोको अवस्था बन्न सक्छ । जथाभावी गुटुटुटु डोजर हान्ने र बूढाबूढी बालबालिका र सुत्केरीको चिल्लीबिल्ली पार्नुचाहिँ भएन । राज्य नै महानगरले के–के न गरेजस्तो देखाएर डोजर हान्ने प्रवृत्तिले शहरमा ठूलो हिंसा र द्वन्द्व निम्त्याउने खतरा बढाएको छ । यो देश सबै तीन करोड नेपालीको हो । शहरमा आएर कानुन, विधि र सामाजिक नियमअनुसार सबैले बाँच्न पाउनुपर्छ । अर्थात् नेपालभर कुनै पनि स्थानमा जाने, बस्ने अधिकार र हक संविधान कानुनले दिएकै छ । बाँच्नै दिइएन भने कंगो, सिरिया र बुरून्डीको जस्तो हिंसा मच्चिन कुनै आइतवार कुर्नु पर्दैन ।
कुनै पनि निर्वाचित वा शासकले आफूलाई हिटलरको रूप धारण गर्न सक्दैन, पाउँदैन । कानुनलाई हातमा लिएर केवल डोजर, डन्डा र दमनको भरमा स्थानीयको घर भत्काउने, पसल व्यवसाय र पेशाकर्मीको आफ्नो व्यवसाय ध्वस्त गर्दै हिँड्ने अधिकार कुन निर्वाचितलाई कुन कानुनले दिएको छ ? प्रत्येक मानिस र शहरका श्रमजीवीको आधारभूत अधिकारको रक्षा नहुने हो भने त्यो कुनै पनि दिन शहरी हिंसामा परिणत हुन कुनै बेर लाग्दैन । हालै गोंगबुको नयाँ बसपार्क क्षेत्रमा के–कस्तो हिंसा र द्वन्द्व भयो ? त्यो एउटा टेलर मात्र हो । त्यस्ता र त्यस्तै प्रकारका अनेकौँ हिंसा काठमाडौँ शहरभरि फैलने अवस्था बालेनले बनाए । बालेन हिंसा, द्वन्द्व र लात्ती भकुण्डोको कारक बन्दै छन् । जनताको नायक बन्नुपर्ने शासक हिटलरी शैलीमा प्रस्तुत हुँदा शहरमा हिंसाको राँको झोस्ने कामको थालनी भयो ।
निर्वाचित शासक ‘अटोक्याट, डिक्टेटर’ हुन सक्दैन, हुँदैन र पाउँदैन । बालेनमा यो कुराको ज्ञान नै देखिएन । निर्वाचित मेयरले हिन्दी नायक फिल्मको जोकरी शैलीमा आफूलाई लागेको काम गर्न पाउँछ भन्ने अज्ञानी भूत बालेनमा देखियो । अर्काेतर्फ उनलाई उचालेर वाहावाही गर्ने युट्युबे भाइहरूले यसैलाई भातभान्छाको माध्यम बनाउन खोज्दा बालेनमा अनिल कपुरको जस्तो ‘हिरो बन्ने’ भूत सवार भयो । यसलाई सबैले पूरै प्रतिकार गर्नुपर्छ । बालेनसँग कसैले डराउनु पर्दैन । कानुन, विधि र स्थापित सामाजिक मूल्यविरूद्ध हुन्छ कि भनेर सबै डराउनुपर्छ । आफ्नो काम र व्यवहारबाट अर्काे मानिस र व्यक्तिको संवैधानिक, काुननी र प्रकृतिप्रदत्त अधिकार हनन हुन्छ कि भनेर डर मान्नुपर्छ । अराजक शैलीमा उत्रेका बालेनले गर्दा काठमाडौँ शहरमा आगामी दिनमा अनेकौं प्रकारका हिंसा, लात्ती भकुण्डो तथा द्वन्द्व मच्चिने खतरा बढ्दै छ ।
बालेनको गैरकानुनी हर्कत र दमन, ट्राफिक प्रहरीको अनावश्यक कडाइ, सवारी लाइसेन्सको दुःख र पीडा, पासपोर्टको लाइनमा भएको सधँैको कष्टपूर्ण भोगाइ आदिका कारण काठमाडौँमा रहेका–आएका लाखौं युवामा अति नै निराशा, कुण्ठा, घृणा, आक्रोश, आवेश र हिंसाको भावना बढ्दै गएको देखिन्छ । त्यसको एउटा संकेत गोंगबुमा प्रहरीको भ्यान पोल्ने, मोबाइल पसल लुट्ने र सडक अस्तव्यस्त गरिएका क्रियाबाट पनि प्रष्ट भइसक्यो । यसर्थ नेपाल सरकारका अनेकौं सेवाग्राही सार्वजनिक निकाय, काठमाडौँका मेयर बालेन, प्रहरी प्रशासनका व्यवहार, हर्कत र दमन, युट्युबरका अनेकौं अफवाहपूर्ण तथा भ्रमपूर्ण सूचना आदिले युवा तथा शहरिया मजदुर आदिमा तीव्र आक्रोश बढ्यो, बढ्दै छ । यही कारण काठमाडौँमा अर्काे नयाँ रूपको टीकापुरमा भएको जस्तो हिंस्रक घटना हुने प्रष्ट संकेत देखियो ।
अर्कोतर्फ मरेर खरानी भइसकेको लास राजा र राजतन्त्रको खरानी कोतर्ने केही उट्फट्याङ पात्र र प्रवृत्तिले पनि हिंसा मच्चाउन खोजेका छन् । उनीहरू गरिखान खोज्ने युवामा रहेका उल्लिखित यस्तै अनेकौँ असन्तुष्टिपूर्ण बाहना र निहँुमा भकुण्डो खेल्न खोज्दै छन् । युवा, मजदुर, किसान र गरिबका पीडामा खेल्दै शहरमा लात्ती भकुण्डो कसरी खेल्न सकिन्छ भन्ने चेसगोटी खेल्दै राजावादी नामधारी दौडन थाले । ‘राजा आउँछन्’ पनि भन्दै छन् । राजधानीबाहिर गएर पूर्वराजा फेरि बाँकी जीवन बाँच्न काठमाडौँमा आउँछन्, त्योचाहिँ सत्य हो ।
अर्काेतर्फ मंसिर ४ को निर्वाचनको परिणाम स्वयंले पनि हिंसा, अस्थीरता, प्रतिहिंसा र शहरी विद्रोहको स्थिति देखाप¥यो । गँजडी, हड्याहा, बौलाहा, सन्क्याहा, मानवसिक रोगी, जोगी र भोगीको साझा थलोजस्तो संसद बैठक हुँदै छ । पञ्चेहरू मन्त्री पनि पड्काउने, लोगो पनि लगाउने र गणतन्त्रको धज्जी पनि उडाउने क्रिया गर्दै छन् । उता लोकतन्त्रवादी, प्रजातन्त्रवादी र गणतन्त्रका खास हिमायती भनिएका दल समूह आपसी सत्ताको खिचातानीमा भुल्दा मुलुकमा अनेकौँ असन्तुष्टिको राँको र ज्वाला दन्कने अवस्था छ । चुनावको मुखमा दल खोलेर ह्वात्तै भित्र छिर्ने रविको रमिताले फेरि उस्तै गाईजात्रा देखाउँदै गयो । राजनीतिक, सामाजिक, सांगठनिक, वैचारिक, ऐतिहासिक र सैद्धान्तिक कुनै पनि आधार नभएका ‘डोकोजस्तो पार्टी’मा फेरि कसरी र कसले ‘पानी’ भरिदिने हो कुनै ठेगान छैन । यसरी नेपाली राजनीतिमा देखिएका अनेकौं अन्योलता, भ्रम र असन्तुष्टि आदिका कारण अबका दिनमा मुलुकका ठूला शहर र काठमाडौँमा हिंसा, लात्ती भकुण्डो र अस्थिरता मच्चिने प्रष्ट संकेत देखियो । यसलाई समयमै सम्बोधन गर्ने गणतन्त्रको संघर्षमा होमिएको प्रमुख दलहरूले न्यूनतम राजनीतिक सहकार्य, सहमति र एकताको माध्यमबाट अघि बढ्नुपर्ने अवस्था छ । उच्च राजनीतिक संकार र संस्कृति आजको आवश्यकता हो । काठमाडौँ शहरको कुरा गर्दा बालेनलाई ‘वाहीवाही’ होइन ‘बाइबाइ’ गर्नुपर्ने समयनै आइसकेको घटना र व्यवहारले प्रष्टै देखाएको छ ।
टिप्पणीहरू