माओवादी र समाजवादीका विद्यार्थीहरु मिलेर चुनाव लड्ने
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनबीच चुनावी तालमेल भएको छ । आगामी चैतमा हुने स्ववियु निर्वाचनमा मिलेर जान दुई संगठनबीच सहमति भएको हो ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्जा सिंह र नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईले आज सहमतिमा हस्ताक्षर गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै चैत ५ मा त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय, चैत ३ मा मध्यपश्चिम र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको स्ववियु निर्वाचनमा तालमेल गर्ने सहमति भएको जानकारी गराए ।
साथै, एउटै प्यानल, घोषणापत्र र समानुपातिक बन्द सूचीसहित चुनावी तालमेल गर्ने र निर्वाचनलगत्तै दुवै संगठन एकताका लागि वातावरण निर्माण गर्न पहल गर्ने समेत उनीहरुले बताएका छन् । स्ववियु निर्वाचनमा प्रत्यक्षतर्फ अखिल क्रान्तिकारी नेतृत्वको संयुक्त प्यानलमा मतदान गर्न तथा समानुपातिकतर्फ अखिल क्रान्तिकारीलो नाममा मतदान गर्नसमेत आग्रह गरिएको छ ।
त्यस्तै, संगठनको एकता प्रक्रियालाई सार्थक बनाउन क्रान्तिकारीका महासचिव दिपेश पुन र समाजवादीका महासचिव टंक धमला रहने गरी स्ववियु निर्वाचनलगत्तै कार्यदल निर्माण गरिनेसमेत विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू